कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४ ज्यान्द्रुङमा वर्थिङ्ग सेन्टर तथा ओटिसी सेन्टर उद्घाटन गरिएको छ । होम डेलिभरीको अन्त्य गर्न वडावडामा स्वास्थ्य चौकी सहित वर्थिङ सेन्टर सञ्चालन गर्ने हेतुले ज्यान्द्रुङमा वर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको हो ।
शनिबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सेन्टरको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै आमा र बच्चाको स्वास्थ्यका लागि र होम डेलिभरीको अन्त्यका लागि वर्थिङ्ग सेन्टर सञ्चालन गरिएको बताए । आगामी वर्ष देखी कैलाशका सबै वडावडामा वर्थिङ्ग सेन्टर रहने उनले बताए । गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक राख्न र सुत्केरी हुने बेला स्वास्थ्यकर्मीहरुकै हेरचाह र उपचार गर्दा विभिन्न जोखिमबाट बच्न र बचाउन सकिने भएकाले वर्थिङ्ग सेन्टरबाट सेवा लिन सबैलाई अध्यक्ष मुक्तानले आग्रह गरेका छन् ।
प्रत्येक वडामा आमा सुरक्षा कार्यक्रम र पोषण कार्यक्रम भइरहेको छ, यहाँका नागरिकले स्वास्थ्य परिक्षण समयमै पाइरहेको अवस्थामा यस वर्थिङ्ग सेन्टरले थप टेवा पुग्नेछ, उनले भने । भौलोलिक विकटता छ, जसले होम डेलीभरीको संख्या बढ्न गइरहेको छ । त्यसको अन्त्यको लागि स्वास्थ्य स्वंमसेविकाको ठुलो भूमिका रहेको रहन्छ, जिरो बनाउन तर्फ लाग्नुस, अनि मात्र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले सार्थकता पाउने छ, उनले भने । गर्भवति महिलाहरुले स्वास्थ्य संस्थाबाटै कम्तिमा ८ पटक गर्भ जाँच गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले वर्थिङ्ग सेन्टर स्थापनाले मात्र हुन्न यहाँबाट सम्बन्धित विरामीले सेवा लिनुपर्नेमा जोड दिए । घरमा सुत्केरी गराउनु भन्दा स्वास्थ्यका हिसाबले सेन्टरमै आएर सुत्केरी गराउँदा धेरै राम्रो रहने बताउँदै वर्थिङ्ग सेन्टरबाट आमा र बच्चाले उपचार गराउँदा मात्रै सार्थकता प्राप्त रहने बताए । गाउँपालिकाले सुत्केरीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ, विभिन्न सूचकलाई पुरा गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक काम गरिरहेको उनले बताए ।
वडा नम्बर ४ का वडाध्यक्ष तीलकबहादुर मुक्तानको अध्यक्षतामा वर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको थियो । डोकोमा घण्टौं समय हिड्ने दिन गए, अब गाउँघरमै सुत्केरी र बच्चाको सरल र सहज ढङ्गले हेरचार र उपचार हुन्छ, वडाध्यक्ष मुक्तानले भने । वर्थिङ्ग सेन्टरमा स्वास्थ्यकर्मी २४ घण्टै रहन्छन्, राय सल्लाह सुझाव अनुरुप सेवा लिन सबै गर्भवती आमाहरुलाई आग्रह गरेका छन् ।
वर्थिङ्ग सेन्टरसँगै कडा कुपोषण बच्चाहरु उपचारको लागि ओटिसी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । जग्गा अभावका कारण वर्थिङ्ग सेन्टर निर्माणमा ढिलाई भएको थियो । स्थानीय कर्णबहादुर थिङले तीन रोपनी जग्गा दान गरेपछि १३ लाख लगानीमा वर्थिङ्ग सेन्टर निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले बताए । उक्त वर्थिङ्ग सेन्टरमा गोपेघारी, देउतीस, धुस्राङ, देउराली, लिच्चे क्षेत्रका स्थानीयहरुले सेवा लिन सक्ने प्रमुख यादवले बताए ।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, वडा ४का कार्यपालिका सदस्य सम्झना गोले, वडा सदस्यहरु नेमराज चेपाङ, रवीन्द्र सिन्तान, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव, प्रेम सेवा समाजका लेखा प्रमुख विष्णु गुरुङ, स्वास्थय सहजकर्ता मार्था फ्युवा, भार्ता प्रहरी चौकीका प्रमुख प्रकाश घिमिरे, वडा ४ का सचिव अशोक शर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जग्गादाता कर्णबहादुर थिङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।