मकवानपुरगढी \ बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री बैकुण्ठ अधिकारीले कृषि क्षेत्रको लगानीमा दुई सरकारबीचको सहकार्य रहने बताएका छन् । शुक्रबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अवस्थित श्रमिक साना किसान कृषि सहकारी संस्थाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सचिव अधिकारीले किसान लक्षित कृषि र पशुपालनको क्षेत्रमा प्रर्याप्त लगानी गर्दै आइरहेको बताए । उनले गाई बाढ्ने मात्र नभई अन्य क्षेत्रमा पनि काम गर्न आग्रह गरेका छन् ।
दुध उत्पादन सँगै प्रशोधन र बजारीकरणमा ध्यान दिनुपर्ने बताउँदै उत्पादनको स्तर माथी ल्याईसकेपछि आगामी वर्ष थप बजेटमा काम गरिने उनले बताए । हामीले विभिन्न रोगव्यादीका खोप कार्यलाई निरन्तरता दिँदै आइरहेका छौं, प्रदेश सरकार मात्र नभई स्थानीय सरकारसँगको सहकार्यमा प्रत्यक्ष रुपमा जोडेर किसान लक्षित कार्य गर्नेछौं, सचिव अधिकारीले भने । सरकारले चाल आवमा प्रदेशका ७५ वटा वडामा यस आयोजना सञ्चालन गरेको र आव २०८२÷०८३ का लागि ७० वटा वडाले प्रस्ताव पेश गरेको सचिव अधिकारीले बताए । उनले दुध उत्पादनमा ध्यान केन्द्रीत गरि ३ वटा पालेर ४ वटाको जति बराबरको दुध उत्पादन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पकेट क्षेत्र बनाई गाउँपालिकाले आवश्यक सहकार्य गर्दै आइरहेको बताए । हामीले दीगो रोजगारी र उत्पादनमा आधारित उद्यमशीलता भन्ने नाराका साथ पालिकाले योजना बनाएको बताए । विगतमा रक्सी पार्ने दिदीबहिनीहरु अहिले गाईपालन गरेर दुध विक्री गर्ने गरेको अध्यक्ष स्याङ्तानले बताए । उनले मक्रान्चुलीलाई बाच्छीहरुको हव बनाउने बताएका छन् । बाच्छीको प्रवद्र्धन गर्दै अन्य स्थानको लागि मक्रान्चुली बाच्छी किन्ने हव बन्ने बताए । पालिकाले बाँझो जग्गामा घाँस लगाउनेलाई प्रोत्साहन अनुदान दिने तयारी रहेको बताउँदै दुधको पकेट क्षेत्रलाई सहकारी मार्फत सहकार्य र समन्वय गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. बज्रकिशोर ठाकुरले पिछडिएको, सीमान्तकृत, गरिब, दलित र महिलाहरुको लागि तय भएको मापदण्ड निर्माण गरेर आवश्यक अनुगमन पश्चात गाई वितरण कार्य गरिएको बताए । धेरै जनाको आवेदन रहेता पनि यसपटक ६४ जनालाई जर्सी र होलिस्टिन जातका गाई वितरण गरिएको प्रमुख ठाकुरले बताए । सहकारीसँगको सहकार्यमा भएको यो परियोजना पञ्चवर्षिय रहेको उनले बताए ।
सहकारी संस्थाका अध्यक्ष निर्मला कुमारी लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष भागतव घिमिरे, वडा सदस्य विदुर हुमागाई, सूर्यबहादुर थोकर, गाउँपालिकाका पशुशाखा प्रमुख सत्यनारायण साह, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल, मकवानपुरगढी बृहत खानेपानी आयोजना समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
समूदायमा आधारित एक वडा कृषि उत्पादन कार्यक्रम अन्तरगत ६६ लाख ६६ हजार ६६६ रुपैयाँमा ४० लाख प्रदेश सरकार, १३ लाख ३३ हजार ३३३ रुपैयाँ गाउँपालिका र १३ लाख ३३ हजार ३३३ रुपैयाँ साझेदार संस्था श्रमिक साना किसानले सहकार्यमा परियोजना सञ्चालन गरिएको थियो । सहकारीले जेष्ठ मसान्त सम्ममा २६ करोड १६ लाख ४० हजार १८५ रुपैयाँको कुल कारोबार गरेको संस्थाका प्रवन्धक गीता लम्सालले बताईन् । एक हजार ७ सय सदस्य रहेको सहकारीमा एक करोड ७० लाख ९८ हजार शेयरपुजीँ रहेको छ । संस्थामा १० करोड ८१ लाख ३ हजार ४१० रुपैयाँ बचत निक्षेप रहेको प्रवन्धक लम्सालले बताईन् । सहकारीले आफ्ना सदस्यलाई २३ करोड ८८ लाख ६३ हजार ८३० रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको जगेडा कोष भने २ करोड १६ लाख ५० हजार ५१९ रुपैयाँ रहेको लम्सालले बताईन् ।