मनहरी \ चैनपुर जेसीज मनहरीले आयोजना गरेको तेस्रो संस्करणको 'जेसीज कप खुला फुटबल प्रतियोगिता'को उद्घाटन गरिएको छ । बिहीबार मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले जेसीजले गाउँपालिकाको विभिन्न वडामा प्रतियोगिता गर्दै युवाहरुलाई सकारात्मक बाटोमा हिँडाउन र फुटबलको विकासमा योगदान पुर्याइरहेको भन्दै खुसी व्यक्त गरे । सकारात्मक कार्यका लागि गाउँपालिकाले सदैव सहयोग गर्ने उनको प्रतिबद्धता रहेको थियो । युवाहरुले अब हरेक क्षेत्रमा आवश्यकता अनुसार नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।
अध्यक्ष कालाखेतीले जेसीजसंगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता समेत जनाए । गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले जेसीजबाट अन्य संघसंस्थाले समेत सिक्नुपर्ने धेरै विषय रहेको धारणा राखिन् । यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास संगै युवाहरुलाई सत्मार्गमा हिँडाउन मद्दत मिल्ने विश्वास व्यक्त गरिन् । कार्यक्रम संयोजक मनोज बिष्टको संयोजकत्व एवम् जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सुजन थापा काजी, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, सानाकिसान कृषि सहकारीका अध्यक्ष गीता प्रजा, जेसीजका कार्यकारिणी उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । शुक्रबारबाट नियमित खेल हुने बिहीवार औपचारिक उद्घाटन भएपनि विशेष कारण खेल सन्चालन हुन नसकेको प्रतियोगिताको खेल शुक्रबारबाट हुने भएको छ ।
औपचारिक उद्घाटन केही ढिला हुनुका साथै विशेष परिस्थितिले खेल हुन नसकेको आयोजकले जनाएको छ । शुक्रबारबाट नियमित खेल हुने जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिए । यस संस्करणमा मकवानपुर र चितवनका गरी १३ क्लवले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले एकलाख एक हजार एकसय ११ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका जेसीजका कार्यकारिणी उपाध्यक्ष मनोज बिष्टले जानकारी दिए ।
प्रतियोगितालाई मनहरी गाउँपालिकाको ४ नम्बर वडाले मुख्य प्रायोजन गरेको छ भने मनहरी ५ नम्बर वडा, मनहरी गाउँपालिकाको कार्यालय, सानाकिसान कृषि सहकारी लामिटार लगायतका संघसंस्थाले सहयोग गरेको छ । प्रतियोगिताका लागि करिब साढे ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको बताइएको छ । पहिलो संस्करणको उपाधी बागमती प्रदेश प्रहरी गणले जितेको थियो भने दोस्रो संस्करणको उपाधी मकवानपुरगढी जेसीजले जितेको थियो ।