कविता
प्रिय बालेन,
त्यो दिनको साँझ,
देश जलिरहेको थियो -केवल भवन होइन, जनताको भरोसा पनि।
सिंहदरबारको पर्खालभित्र इतिहास चिच्याइरहेको थियो,
र सडकमा, नयाँ पुस्ताको रगत उम्लिरहेको थियो।
तिमीलाई तिनीहरूले विश्वास गरेका थिए ।
Gen Z का छातीमा तिम्रो नाम लेखिएको थियो,
अन्तरिम सरकारका प्रधानमन्त्रीका रूपमा
पहिलो सिफारिस तिम्रो थियो।
आगामी प्रत्यक्ष कार्यकारी नेतृत्वका लागि पनि
उनीहरूले तिमीमै आशा राखेका छन्।
तर त्यो क्षण- तिमी मौन थियौ।
“सिंहदरबार नजलाउ,
यो हाम्रै सम्पत्ति हो”
भन्ने एउटा वाक्यले नै आगो निभ्थ्यो,
न कि दमकलले,
तर तिमीले त्यो लेखेनौ,
या सायद, लेख्नै चाहेनौ।
नेतृत्व केवल निर्णयमा होइन,
समाज निर्माणमा नापिन्छ,
संकटमा बोलेको शब्दमा नापिन्छ।
चाहे तिम्रो सवारी ट्राफिकले रोक्दा होस्,
या पोसाकधारी विद्यार्थीका
छाति र टाउकामा गोलि चल्दा।
तिमी अब्बल प्रशासक होलाउ,
कुशल कार्यकारी होलाउ,
सिपालु र ज्ञानी पनि होलाउ।
तर,
तिम्रो आत्मविश्वास र पाखण्डबिच,
फरक खुट्याउनै गार्हो भो।
जसरी नेता र भ्रष्टाचारबिच,
झोले र भक्तबिच,
लोकतन्त्र र अराजकताबिच।
देशले खोजेको नेता
जसले भीडको भावनामा दिशा दिन सकोस्, ।
र संकटमा विवेक बोल्ने आँट राखोस्
त्यो रूप अझै तिम्रो अनुहारमा स्पष्ट छैन,
सायद त्यो कालो चस्माले छेकेको छ।
देश तिमीमाथि अझै नजर गाडेर बसेको छ,
आशा र आलोचनाहरु छछल्किएका छन्।
हर्क र निकोलसहरु-तिमिलाई 'र' र 'सिआइए' एजेन्ट् भन्दैछन्।
हेर, तिम्रो मौनताले
खण्डन भन्दा बढी स्विकारोक्ति बोलिरहेको छ।
सिंहदरबार त जल्यो।
तर,
सँगै जनताको विश्वास पनि जल्यो।
फेरि उठ्न,
अब तिम्रा शब्द होइन, चरित्रले देखाउनुपर्नेछ।
♦ डि.आर. बिष्ट
(२०८२\०६\२२, बुधबार)
कालिकोट(हाल मकवानपुर)