कैलाश \ मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा बैंकिङ घुम्ती कार्यक्रम मार्फत पाँच सय ३४ जनालाई प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकाको माथिल्लो भेग वडा १,२, ५ र ६ सहित वडा ९ र १० वडामा बैंकिङ घुम्ती शिविर गरिएको थियो ।
जेष्ठ नागरिकहरुलाई आवतजावतमा समस्या रहेकाले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । यातायातको समस्याका साथै अपाङ्गता र बयोबृद्ध आमाबुबाको हिडडुलमा समस्या रहने भएकाले वडा वडामा घुम्ती कार्यक्रम राख्ने गरेको उनले बताए । बैंक सम्म पुग्दा खर्चिलो बढी हुन्छ, र भौगोलिक दृष्टिले माथिल्लो क्षेत्रका लाभग्राहीलाई सहज पुग्न बैंकसँगको सहकार्यमा वडाबाटै भत्ता वितरण गरेका हौं, अध्यक्ष मुक्तानले भने ।
घुम्ती कार्यक्रम भएको ६ वटा वडामा ५ सय ३४ जनाले सेवा लिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख अशोक स्याङ्तानले बताए । उनका अनुसार वडा १ मा एक सय ५ जना, वडा २ मा एक सय १८ जना, वडा ५ मा एक सय ५६ जना, वडा ६ मा एक सय ८ जनालाई सेवा प्रदान गरिएको बाए ।
त्यस्तै, वडा ९ मा ३४ जना र वडा १० मा १३ जनाले सेवा लिएका छन्, । लाभग्राहीको संख्या बढी भएपनि घुम्ती कार्यक्रममा केही लाभग्राही उपस्थित नभएको शाखा प्रमुख स्याङ्तानले बताए । केही लाभग्राहीले पालिकाकै बैंकबाट त केहीले हेटौंडाबाट पनि सेवा लिने गरेको उनले बताए ।
गाउँपालिकाबाट प्रथम त्रैमासिकमा दुई हजार ८ जनाको सामाजिक सुरक्षा भत्ता निकासा भएको थियो । घुम्ती कार्यक्रममा पाँच सय ३४ जना, बैंकबाट एक हजार ३९ जनाले सेवा लिइसकेको स्याङ्तानले बताए । भक्ता लिन बाकीँ भने चार सय ३४ जना रहेको उनले बताएका छन् । घुम्ती कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, सामाजिक विकास समितिका संयोजक राजेन्द्र घिसिङ, शाखाका कर्मचारी, बैंकका कर्मचारी, वडा सचिव र वडा जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।