कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक वडा नम्बर ७ ङिको स्वास्थ्य चौकीमा आमा सुरक्षाका लागि पर्खिने घर(वोइटिङ कक्ष) सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त घर उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अध्यक्ष मुक्तानले गर्भवती महिलाको अधिकारको विषय रहेकाले पनि घरको निर्माण गरिएको बताए । गाउँपालिकाको प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा सुत्केरी आमाहरुको लागि थप सुरक्षा होस् भन्ने हेतुले खाना बस्नको सुविधा सहित घर निर्माण गरिएको उनले बताए ।
वर्थिङ सेन्टर सञ्चालनले घरमा सुत्केरी हुनेको संख्या कम हुँदै गइरहेको बताउँदै अब सुत्केरी व्यथा लाग्नु अघि नै एक दुई दिन अघि देखी स्वास्थ्य सुरक्षाको लागि वोइटिङ कक्षमा आउन आग्रह गरे । सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता बढी रहेको वडामा विस्तारै स्वास्थ्य चेतना वृद्धि हुँदै गइरहेको अध्यक्ष मुक्तानले बताए । गाउँघर क्लिनिक सञ्चालन, घरमै गर्भ परीक्षण कार्य भइरहेको पनि छ, होम डेलीभरी शुन्यतामा ल्याउन गाउँपालिका अग्रसर रहिरहेको उनले बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले दुर्गम गाउँहरुमा भौगोलिक विकटता रहेको स्थानहरुमा यस्ता पर्खिने घर निर्माण गर्दै आइरहेको बताए । प्रदेश सरकारको विशेष अनुदान अन्तरगत गत आवको वार्षिक कार्यक्रममा हामीले यस घर निर्माण गरिएको प्रमुख श्रेष्ठले बताए । टाढाबाट आउँदा खान र बस्न समस्या हुने अवस्था रहेकाले यस स्वास्थ्य चौकीमा एक कोठे घर निर्माण गरिएको उनले बताए ।

स्वास्थ्य संस्थामै सुत्केरी गराउँन सके आमा र बच्चाको स्वास्थ्य अवस्था जाँच गरि थाहा पाउन सकिने भएकाले स्वास्थ्य चौकीमै सुत्केरी गराउँन उनले अनुरोध समेत गरे । घर निर्माणले सेवा प्रवाहमा थप टेवा पुग्ने वडा ७ का अध्यक्ष उदासकुमार भोलनले बताए । हामीले यसअघि पनि खाना खुवाउने र राख्ने गरेका थियौं, घर निर्माण सहज बन्ने छ, उनले भने ।
वडाध्यक्ष भोलनकै अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तीलकप्रसाद गौतम, वडा सचिव युगचन्द्र भट्टराई, स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर लगायतको आतिथ्यता रहेको थियो । उक्त घर जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बस्न र खानको लागि आवश्यक सामाग्री उक्त घरमा राखिएको छ ।