कैलाश \ मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा दुई सय ८२ घरमा खानेपानी धारा निर्माणका लागि त्रि-पक्षीय सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको हस्ताक्षर कार्यक्रममा साझेदार संस्था वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक निजन श्रेष्ठ, गाउँपालिका अध्यक्ष मुक्तान र उपभोक्ता समितिका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
साझेदार संस्था वाइन टु वाटर नेपालले गाउँपालिकाको विभिन्न वडामा चरणबद्ध सर्भे पश्चात पाँचवटा योजना छनौट गरेको थियो । सोही अनुरुप बुधबार त्रि-पक्षीय सम्झौता गरिएको हो । उक्त योजनामा गाउँपालिकाको २५ प्रतिशत योगदान रहन्छ भने संस्थाको ६५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत योगदान रहने गरी सम्झौता गरिएको छ ।
गाउँपालिकाको वडा ६ को मराङसिंह आगेटार खानेपानी उपभोक्ता समितिमा ६४ घरधुरी, वडा ७ को कोथलिटार बस्ताल खानेपानी उपभोक्ता समिति अन्तरगत ६८ घरधुरी, वडा ८ को वाक्सिराङ माथिल्लो टोल खानेपानी उपभोक्ता समितिमा ५४ घर, वडा ९ को घैराङ खानेपानी उपभोक्ता समितिमा ७४ घर र वडा १० को थिङडाँडा खानेपानी उपभोक्ता समितिमा २२ घरधुरी सहित २८२ घरधुरीका एक हजार ७३२ जना लाभान्वित रहनेछन् । उक्त योजनाका लागि त्रि-पक्षीयको तीन करोड ६७ लाख २८ हजार ५५८ रुपैयाँ बजेट रहेको छ । जसमा गाउँपालिकाले ९१ लख ८२ हजार १३९ रुपैयाँ बजेट खर्च गर्नेछ ।

सम्झौता पश्चात अध्यक्ष मुक्तानले सम्झौता अनुरुप समिति र उपभोक्ताले दीगो हुने गरि काम गर्न आग्रह गरेका छन् । एक घर एक धारा अनुरुप वास परियोजना अन्तरगत गाउँपालिका र अन्य साझेदारी संस्थाहरुसँगको सहकार्यका काम गर्दै आइरहेको उनले बताए । यो योजनाको स्वामित्व र जिम्मेवारी उपभोक्ता समितिको रहने हुनाले ध्यानपूर्वक समय सीमाभित्र नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । योजनालाई कसरी दीगो बनाउने हो यहाँहरुको हातमा रहन्छ, सुरक्षित खानेपानीले स्वास्थ्यमा महत्वपूर्ण योगदान रहन्छ, अध्यक्ष मुक्तानले भने ।
मनिसको मौलिक हक अन्तरगत खानेपानी रहेकाले गाउँपालिकाबाट खानेपानी, सरसफाईको क्षेत्रमा काम गर्दै आइरहेको उनले बताए । घरमा धारासँगै एक शौचालय अनिवार्य रहेकाले शौचालय नभएका उपभोक्ताले शौचालय निर्माण गर्न तर्फ लाग्न अनुरोध गरेका छन् । शौचालय नभएको घरमा धारा जडान नहुने परियोजनाको योजना रहेकाले अनिवार्य शौचालय निर्माण गरिनुपर्ने उनले बताए ।
कार्यक्रममा वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक श्रेष्ठले खानेपानीको क्षेत्रमा सन् २०१६ देखी काम गर्दै आइरहेको बताए । समृद्ध परियोजना अन्तरगत पाँच पालिका मध्ये कैलाशमा पनि हामीले योजना बनाई काम गर्न लागिएको उनले बताए । सुरक्षित खानेपानीले स्वास्थ्य र सरसफाइका साथै आयआर्जनमा सहयोग पुग्ने विश्वास रहेको श्रेष्ठ बताए । २० वर्ष सम्म सुरक्षित खानेपानी खुवाउने लक्ष्यका साथ योजना निर्माण गरिने जनाए । पानी र सरसफाईको बोध लिएर उपभोक्तानै जागरुक हुनुपर्ने बताउँदै निर्माण पछि योजनाहरुलाई संरक्षण गर्नु यहाँहरुकै दायित्व रहेको बताए ।
योजना अन्तरगत कोथलीटार बस्ताल क्षेत्रमा ५ वटा इन्टेक, २ वटा डिसी र ३ वटा आर.भि.टी निर्माण गरिने वास कन्सलटेन्ट बासुदेव पाण्डेयले बताए । उनका अनुसार थिङडाँडा क्षेत्रमा एक वटा इन्टेक, डीसी एक वटा र आरभिटी २ वटा, वाक्सिराङ माथिल्लो टोल क्षेत्रमा एक वटा इन्टेक, १ वटा डीसी र तीनवटा आरभिटी निर्माण गरिनेछ । त्यस्तै, घैराङ क्षेत्रमा एक इन्टेक र ३ आरभिटी, मराङसिंह आगेटार क्षेत्रमा एक इन्टेक,२ डिसी र तीन वटा आरभिटी निर्माण गरिने पाण्डेयले बताए । यी योजना मध्ये वडा ९ को एक विद्यालयमा पनि धारा निर्माण गरिने जनाइएको छ ।