हेटौँडा \ हेटौँडा बजार क्षेत्रको लामो समयदेखि रोकिँदै आएको सडक विस्तार कार्य मंसिर २० गतेबाट सुरु हुने भएको छ । यसका लागि सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले बिहीबारबाट रेखांकन र रङ लगाउने काम सुरु गरेको छ ।
कार्यालयले हेटौँडा उपमहानगरपालिका– १५, रातोमाटेबाट मार्किङकाे काम सुरु गरेको हो । यसअघि डिभिजन सडक हेटौँडाले ५ मंसिरमा १५ दिने सूचना जारी गरेको थियोे । जसको अवधि यही १९ मंसिरमा सकिँदै छ । उक्त अवधिमा संरचना नहटाएमा मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तारको काम अघि बढाइने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार चार विभिन्न स्थानबाट एकैपटक डोजर चलाइनेछ । उनले भने, ‘१९ गतेसम्म अतिक्रमित संरचना आफैँ नभत्काए २० गते बिहानबाट अतिक्रमित संरचना भत्काउन डोजर प्रयोग हुन्छ।’
अतिक्रमित संरचना हटाउन सुरु भएपछि बजार क्षेत्रको मुख्य सडकमा सवारीसाधन आवागमन रोकिने र बाइपास सडक प्रयोग गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालय हेटौँडाले जनाएको छ । सडक विस्तारलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ । बुधबार बसेको सरोकारवाला निकायको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको हो ।
समितिमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधि सदस्य रहेका छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै रहनेछ । टास्क फोर्सले बुधबारबाटै माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सडक विस्तारका क्रममा विद्युत्, खानेपानी, टेलिफोनलगायतका अत्यावश्यक सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए ।
हेटौँडा प्रदेश राजधानी भएकाले यसलाई सुन्दर, व्यवस्थित र सुरक्षित सहरका रूपमा विकास गर्न सडक विस्तार अपरिहार्य रहेको उनको भनाइ छ । उनले एसियाली विकास बैंक (एडिबी) बाट आवश्यक बजेट सुनिश्चित भइसकेकाले काम कुनै हालतमा नरोकिने स्पष्ट पारे । ‘घरधनीहरूले स्वयं संरचना हटाइदिए काम झनै सहज हुन्छ। सबै पक्षलाई जितको अनुभूति हुने गरी कार्य अघि बढाइनेछ,’ प्रजिअ अधिकारीले भने ।
सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने स्थायी–अस्थायी संरचना १५ दिनभित्र हटाउन आग्रह गरेको छ । सूचना अवधि सकिएपछि भने संरचनाहरू बलपूर्वक हटाइने बताइएको छ ।