कैलाश \ मकवानपुरको कैलाश गाउापालिका वडा नम्बर ३ खिर्कीको बीस घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय निर्माण हुने भएको हो । सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयहरुमा खुसी छाएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै समय सीमाभित्र निर्माण गर्न आग्रह गरेका छन् । खाल्डो खनी सक्नुभएको छ, अब २५ दिन भित्र निर्माण सम्पन्न गर्नुस् उनले भने । राज्यले एक घर एक धाराको अवधारणा ल्याएसँगै उक्त अवधारणाको सूचकमा शौचालय र सरसफाई रहने उनले बताए ।
जथाभावी दिशा पिसाबले विभिन्न रोग, पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालयमै दिशापिसाब गरिनुपर्ने सुझाए । संस्थाको आफ्नो नियम रहन्छ, समय सीमाभित्रै शौचालय निर्माण गर्नुस्, उनले भने । गाउँपालिकाले छिट्टै सुरक्षित खानेपानीको लागि काम गर्नेछ ।
बाल विकास कार्यक्रम नेपालले २० घरधुरीलाई शौचालय निर्माणको लागि पर्ने सम्पूर्ण निर्माण सामाग्री सहयोग गरेको हो । संस्थाले गाउँपालिकाभित्र शिक्षा र स्वास्थ्यसँग विभिन्न काम गर्दै आइरहेको छ । यस अघि पनि संस्थाले वडा तहका कार्यालयका लागि भनी विभिन्न सरसफाईका सामाग्रीहरु हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण भट्टराई, संस्थाका अन्य प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
संस्थाको निमय र लाभग्राहीसँगको सम्झौता अनुरुप सामाग्री हस्तान्तरण गरेको २५ दिन भित्र निर्माण सम्पन्न हुनुपर्ने रहेको रहेको अध्यक्ष भट्टराईले बताए । निर्माणका लागि सिमेन्ट, रड, प्यान, जस्तापाता लगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।