कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले २२ औँ महिला सामूदायिक स्वास्थ्य स्वंयमसेविका दिवस मनाउँदै विस २०५१ देखी सेवा प्रदान गर्दै आइरहेकी मनसानी थोकरलाई दीर्घ सेवा सम्मान गर्दै विदाई गरिएको छ । ३१ वर्षदेखी साविक कालिकाटार गाविस लिच्चे कार्यक्षेत्रमा आफ्नो सेवा प्रवाह गर्दै आइरहेकी थिईन् । उमेर हदका कारण उनलाई दिवसको अवसरमा १० हजार नगद सहित सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा दिवस मनाइएको थियो । सोही अवसरमा सेवा गरे अनुरुप कैलाश ३ का सरस्वती सुनार प्रथम भएकी छिन् भने कैलाश ८ का सुकुमाया मोक्तान द्धितीय र वडा ५ का सुनिता माया थिङ तृतीय भएकी छिन् । पुरस्कृत हुनेलाई विभिन्न सामाग्रीका साथ प्रमाणपत्र प्रदान गरिएको थियो ।
स्वस्थ समूदायको निर्माण, महिला समूदायिक स्वास्थ्य स्वंयमसेविकाको योगदान भन्ने नाराका मनाइएको दिवस कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले स्वास्थ्य क्षेत्रमा स्वंयमसेविकाको अग्रणी भूमिका रहेको बताए । यहाँको भूमिका अतुलनीय छ, स्थापना भएदेखी हाल सम्म सेवा गरिरहनु भएको छ राज्यको लक्ष्य अनुरुप काम गर्न आग्रह गर्दछु, उनले भने । कैलाशमा होमडेलीभरीलाई शन्यता तर्फ लैजानको लागि यहाँहरुले महत्वपूर्ण भूमिका खेल्नुभएको प्रति आभारी समेत छु ।
राज्यले तोकिएको सुविधामा गाउँपालिकाले थप गतवर्ष सम्म एक हजार र चालु आव देखी पाँच सय थप गरेर भत्तामा वृद्धि गरिएको उनले बताए । स्वास्थ्य र शिक्षामा विभिन्न काम गरिरहेको बताउँदै आगामी दिनमा पनि सरकार र साझेदार संस्थासँगको साझेदारीमा पनि काम गरिने प्रतिवद्धता जनाए ।
निस्वार्थ रुपमा जुनसुकै अवस्थामा पनि सेवा दिदैं आएका स्वंयमसेविकाको भूमिका उल्लेख्य रहेको वडा नम्बर ७ का वडाध्यक्ष उदासकुमार भुलुनले बताए । उहाँहरुको भूमिकामा हामी सन्तुष्ट रहेको बताउँदै यहाँको योगदानप्रति धन्यवादले मात्रै पुग्दैन त्यसमा हामी ऋणी छौँ, उनले भने ।
कार्यक्रममा स्वंयमसेविका सरिता मुक्तानले काम धेरै सम्मान कम हुने पेशा अंगालेको बताईन् । पहिले गोष्ठी तालिमहरु प्रशस्तै आउँथ्यो अहिले हराउँदै गएको छ । समय अनुसार तालिमको आवश्यकता रहेको उनले बताईन् । हामी भनेको गाउँघर समुदायको पहिलो डाक्टर हौँ, सोही अनुरुप हामीमा पनि सीप र ज्ञान अपगे्रड रहनुपर्ने भनिन् ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवकोटी, नेपाल ग्रामीण पुनर्निमाण संस्थाका कार्यक्रम संयोजक लिलबहादुर कार्की, सांग्रीला डेभलपमेन्ट एशोसिएसनका सोनी मल्लिक, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा प्रेम सेवा समाजका सचिव रामसिं प्रजा, बाल विकास कार्यक्रम नेपालका निराजन प्रजा, गाउँपालिकाका वडाका स्वास्थ्य ईन्चार्जहरुको आतिथ्यता रहेको थियो । १० वटा वडा रहेको गाउँपालिकामा हाल ४२ जना स्वास्थ्य स्वंयमसेविकाहरु कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतमले बताए ।