♦ बिनोद चन्द्र कोइराला
सन्दर्भःराष्ट्रिय एकता एवम् मेल मिलाप दिवस
देशको अस्मिता माथि मडारि रहेको खतरालाइ आङ्कलन गरि आफुलाइ बलिदान दिएर भए पनि नेपाल र नेपालीको अस्मिता बचाउनु पर्छ भन्ने उद्देश्यका साथ राष्ट्रिय एकता एवम् मेलमिलापको नीति बोकेर बीपी कोइराला स्वदेश फर्किएको दिन पौष १६,२०३३ । यो पवित्र दिन आम नेपालीले पर्वको रुपमा मनाउनु पर्ने दिन हो भन्ने पंक्तिकारको बुझाइ रहेकोले दिवंगत आदरणीय सन्त नेता सुशील कोइराला प्रधानमन्त्री हुँदै गर्दा पंक्तिकारले पौष १६ लाई राष्ट्रिय दिवस घोषणा गरियोस भन्ने प्रस्ताव समेत गरेको सम्झना ताजै छ । तर कार्यान्वयन हुन सकेन ।
तथापि केही वर्ष अघिसम्म नेपाली कांग्रेसले यो दिनलाइ जाँगरका साथ पर्वको रुपमा मनाउने गरेको थियो । तर अब त्यो पनि क्रमशः सिथिल हुँदै गएको महसुस हुँदैछ । बीपी बिचार समाज मकवानपुरले भने यो दिनलाइ विशेष महत्वका साथ विभिन्न कार्यक्रमगरि स्मरण गर्न,स्मरण गराउने र यसको महत्वबारे प्रकाश पार्ने कार्य निरन्तर गर्दै आएको छ । यहि दिवसलाइ मध्यनजर गरि बीपी विचारका वाहक, रुपान्तरणमा युवा संवाहक शीर्षकमा यस पटक (कारणबस )पौष १२ गतेनै अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता समाजको आयोजनामा सम्पन्न गरियो । प्रतियोगीहरुको उत्साह र बिचार प्रवाहको दृष्टिकोणले कार्यक्रम उत्कृष्ट रहेको महशुस गरियो । कार्यक्रमका परिकल्पनाकार यस समाजका वरिष्ठ सल्लाहकार एवम् प्राध्यापक कृष्णप्रसाद दहालज्यु धन्यवादका पात्र हुनुहुन्छ ।
बीपी कोइराला र पौष १६, बिचारको दृष्टिकोणले, त्याग र समर्पणको दृष्टिकोणले, देश भक्तीको दृष्टिकोणले उच्चतम महान कार्य थियो र हो भन्दा पक्कै पनि अत्युत्ति हुने छैन । अझ सुक्ष्म रुपले बीपीलाई बुझ्न विद्वान विष्लेषक रामप्रसाद पन्तका शब्द सापटी लिएर भन्नुपर्दा बीपीका बहुआयामिक बिशेषतालाई यसरी बुझ्न अझ सजिलो हुनेछ । बीपी के हो ? बीपी चेतना हो । बीपी विचार हो । बीपी युगको प्रतिबिम्ब हो । बीपी ज्ञान हो । बीपी विज्ञान हो । बीपी समयको प्रवाह हो । बीपी न भुत हो,न भविष्य हो । बीपी सधैं वर्तमान हो ।
बीपी संघर्षको अर्का रुप हो । बीपी पीडा र बेदनाको प्रतिरुप हो । बीपी दया र करुणाको सागर हो । बीपी जनमनको अन्तर आवाज हो । बीपी चम्किलो प्रकाश हो । बीपी अध्यारोमा चमक दिने एउटा ज्योति पुन्ज हो । बीपी विचारको सगरमाथा हो । भावनाको प्रशान्त महासागर हो । बीपी देश बनाउन सपनै सपना बोकेर वैचारिक एवम् दृढसंकल्पमा समर्पित एवम् समुन्नत युगनायक हो ।
राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको बारेमा धेरै लेखियो, धेरै पढियो र धेरै सुनियो । विभिन्न अर्थ पनि लगाइयो । विभिन्न दृष्टिकोणबाट बुझ्ने हेर्ने काम पनि भयो । जसले जसरी बुझ्ने बुझाउने कोशिस गरेपनि समष्टिमा त्यो त्याग, समर्पण र देश भक्तिको अनुपम नमुना थियो र हो पनि । तर विडम्बना अहिलेको राजनीति नेतृत्वको सोच कस्तो छ भने शक्ति र सत्ता प्राप्त हुने हो भने विचार सिद्धान्त मात्र हैन देश बेच्न पनि पछि नपर्ने खालको देखिदैछ । भाद्र २३ र २४ को जेन्जी आन्दोलन नेतृत्वको भ्रष्ट सोचकै परिणती थियो । तैपनि नेतृत्वले आफु सुध्रिने र सच्चिने लक्षण देखाएको छैन । व्यवहारिक राजनीतिको नाममा पद र पैसासँग विचार र सिद्धान्त साट्ने काम भएको छ । युवा पुस्तामा राजनीति प्रतिको वितृष्णा यहि आदर्श विहिन राजनीतिको परिणाम हो ।
बीपी भन्नुहुन्थ्यो व्यवहारिक राजनीति भनेको आफ्नो आदर्शलाई छोडेर आ आफ्नो दुनो सोझ्याउने काम गर्नेलाइ म व्यवहारिक राजनीति भन्दिन । व्यवहारिक राजनीति भनेको आफ्नो आदर्शलाई कायम राखेर तत्कालीन समस्या देश र जनताको पक्षमा समाधान गर्नुनै व्यवहारिक राजनीति हो । अहिलेसम्म नेपाली कांग्रेसमाथि यत्रो मान्छेको विश्वास यहि कारणले हो कि यो पार्टीले, यो पार्टीका नेताले आफ्नो आदर्श पनि छोड्दैन र व्यवहारिक राजनीति पनि गर्छ भनेरै हो ।
बीपीकै शब्दमा "we do not compromise on ideology .but we compromise on the means to achieve the idea."
म मरे पनि मेरो देश बाँच्नु पर्छ । नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता बचाउन सबै सँग मेलमिलाप मात्र हैन आफ्नो बलिदान दिन पनि तयार छु भन्दै बीपी स्वदेश फर्कनु भयो । त्यो त्याग, त्यो आदर्श र त्यो बलिदानी भावना अब कहाँ पाउने । बीपी भविष्यद्रष्टा पनि हुनुहुन्थ्यो । त्यसैले पनि हो उहाँका कालजयी विचारहरु र राष्ट्रिय मेलमिलापको नीति आज पनि सान्दर्भिक छ र देश निर्माणको सवालमा भोलि पनि सान्दर्भिक रहनेछ ।
बीपीको देशभक्ति पुर्ण भावना, त्याग, संघर्ष र सर्वकालीन सत्य विचारहरुलाइ युवा पुस्ता माझ पुर्याउन सके र व्यवहारमा उतार्न सके निश्चय पनि यो मुलुकको कायापलट हुने थियो । बीपी राजनीति विचारले चल्नु पर्दछ र राजनीतिक नेतृत्वमा इमान्दारी र नैतिकता अनिवार्य हुनु पर्दछ । त्यो भएमा मात्र देशको विकास हुन्छ भन्नुहुन्थ्यो । तर दुर्भाग्य अहिलेको राजनीतिमा र राजनीतिक नेतृत्वमा न त विचार रह्यो न त नेतृत्वमा नैतिकता र इमान्दारिता नै रह्यो । परिणाम देश र जनताले भोग्नुपरेको दुर्दशा र जेन जी भाइ बैनीहरुको बलिदान ।
अति र असह्य भए पछि यस पटक भने युवा पुस्ता जसलाइ जेन जी पुस्ता पनि भनिन्छ को राजनीतिमा सक्रिय हस्तक्षेप र उनीहरुको सहभागिता देखिएको छ । जसले गर्दा भोलिका दिनमा बीपीका आदर्श विचारहरु कार्यान्वयनमा आउने र देशले समृद्धिको बाटो समात्ने आशा जगाएको छ ।
अन्तमा बीपी कोइरालाकै यो कालजयी भनाइ पस्कदैँ र बीपी प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै यो आलेखलाइ यहि विश्राम दिन्छु । 'नेतृत्वमा आफ्नो अपरिहार्यता र अहंमताको भाव उत्पन्न भयो भने बुझे हुन्छ तीनको पतनको शुरुआत भयो'
जय नेपाल
(लेखक कोइराला बीपी विचार समाज मकवानपुरका अध्यक्ष हुन् ।)