हेटौंडा \ नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ ।
मंगलबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको हो । उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिनुभयो। तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताउनुभयो ।
यसैगरी तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ । साथै विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले जानकारी दिनुभयो ।
कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, ताम्बा–डम्फुरेको प्रस्तुति तथा लामाद्वारा विधिपूर्वक पूजा गरिने उपाध्यक्ष योञ्जनले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको र वडा नम्बर १ कार्यालयले विशेष सहयोग गरेको आर्थिक संयोजक राज स्याङ्तानले जानकारी दिनुभयो ।
आयोजकका अनुसार कार्यक्रम सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रममा गाउँपालिकाको कृषि शाखाले रैथाने बाली, कोदो, फापर, गहुँ लगायतका परिकारको स्टल राखी प्रदर्शन गरिने छ । पत्रकार सम्मेलनमा वडा नम्बर १ का वडा अध्यक्ष आइत सिंह लो , समितिका सल्लाहकार आकाश गोले, राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।