मकवानपुरगढी \ पाठेघरकोको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत मकवानपुरगढी गाउँपालिकामा १९३ जना छात्रामा एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्तरीय खोप समन्वय समितिले बुधबार अभिमुखीकरण कार्यक्रम गर्दै खोप सेवा सञ्चालन गरिने भएको हो ।
समन्वय समितिका संयोजक एंव गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा अध्यक्ष स्याङ्तानले रोग लाग्नु भन्दा रोग लाग्न नदिन खोप अभियान सुरु भएको बताए । क्यान्सर जस्तो जटिल रोगको निदान गरिनुपर्ने भन्दै विद्यालयमा सहज वातावरण निर्माण गरि खोप कार्यक्रम सञ्चालन गर्न निर्देश समेत दिएका थिए । नेपालमा दैनिक सरदरमा ४ जनाको पाठेघरको क्यान्सरका कारण मृत्यु भइरहेको तथ्याङ्कहरुले प्रष्ट पारेका छन् ।
यसवर्ष पालिकाभित्र १९३ जनामा खोप लगाइने स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले बताए । गतवर्ष छुटेका ९ जना, विद्यालय बाहिरको किशोरी २ जना गरि १९३ जनामा खोप लगाइनेछ । यसवर्ष वडा १ मा १९ जना, वडा २ मा ४५ जना, वडा ३ मा २२ जना, वडा ४ मा ८ जना, वडा ५ मा ३२ जना, वडा ६ मा २८ जना, वडा ७ मा २५ जना र वडा ८ मा १२ जना छात्राहरुमा खोप लगाइने लामिछानेले बताए ।
माघ २६ देखि २८ गते सम्म सञ्चालन हुने खोप कार्यक्रम १६ वटा सामुदायिक विद्यालय र १ वटा संस्थागत विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रालाई लगाइने उनले बताए । अभियानमा छुटेका छात्राहरुलाई फागुन ८ गते देखी १० गते सम्म हुने नियमित खोप कार्यक्रममा लगाइने जनाइएको छ । गतवर्ष गाउँपालिकाभित्र कक्षा ६ देखि १० सम्म २ हजार ४५ जना किशोरीहरुमा खोप लगाइएको र जसमा कक्षा ६ मा अध्ययन गर्ने २२४ जना रहेका थिए, लामिछानेले भने ।
अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछाने, वडा २ का वडाध्यक्ष बखान सिं पाख्रीन, वडा ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, वडा ७ का अध्यक्ष सुर्यबहादुर रुम्बा, वडा ६ का कार्यबहाक अध्यक्ष जीतबहादुर घलान, सबै वडाका स्वास्थ्य चौकी ईन्चार्ज, विभिन्न शाखाका प्रमुख तथा सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो ।