नवलपुर (गैंडाकोट) : स्वतन्त्र पत्रकार सङ्घ नेपालको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन गैंडाकोटमा सम्पन्न भएको छ। अधिवेशनबाट कृष्णप्रसाद बास्तोला पुनः अध्यक्षमा चयन हुनुभएको छ। उपाध्यक्षमा निर्सना लक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन हुनुभएको छ। सदस्यहरूमा युक्तप्रसाद सुवेदी (बाग्लुङ), कृष्णबहादुर रायमाझी (कास्की), योगेश खपाङ्गी (झापा), प्रेमध्वज लामा र सुरेशप्रसाद सैजु (भक्तपुर) तथा सागर कार्की (कास्की) निर्वाचित हुनुभएको छ। उद्घाटन सत्रमा वरिष्ठ पत्रकार उदय बहादुर अमात्यलाई २५ हजार रुपैयाँ राशिको “सामाजिक पत्रकारिता पुरस्कार” प्रदान गरिएको थियो। पुरस्कार ग्रहणपछि अमात्यले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै पत्रकार स्वयं उदाहरण बन्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “हामी सबै स्वतन्त्र हुन सक्छौँ, तर त्यसका लागि चाहना आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “सबैलाई स्वतन्त्र बनाउन सकिन्छ, तर सबैमा त्यस्तो चाहना हुनुपर्छ।”
उहाँले स्वतन्त्र पत्रकारिताले निष्पक्षता कायम गर्ने उल्लेख गर्दै कुनै पनि दलले स्वतन्त्र पत्रकारलाई आफ्नो प्रभावमा राख्न नसक्ने, तर सबै पत्रकारलाई स्वतन्त्र बनाउन सकिने बताउनुभयो। कार्यक्रममा संघका अध्यक्षले स्वतन्त्र पत्रकार सङ्घको स्थापना पृष्ठभूमि स्पष्ट पार्दै २०६८ सालमा पत्रकार महासंघभित्र देखिएको दलीय भागबण्डाको विरोधबाट संघको यात्रा सुरु भएको जानकारी दिनुभयो। कास्कीबाट सुरु भएको संघ अहिले देशका विभिन्न जिल्लामा विस्तार भइसकेको उल्लेख गर्दै उहाँले दलीय प्रभावबाट मुक्त, निष्पक्ष र व्यावसायिक पत्रकारहरूको साझा मञ्चका रूपमा संघलाई विकास गरिएको बताउनुभयो। “पत्रकारले मतदान गर्नु बाहेक अन्य समयमा राजनीतिक आस्था प्रदर्शन गर्नु हुँदैन,” अध्यक्षको भनाइ थियो। उहाँका अनुसार पछिल्लो समय पत्रकारिताको सम्मान घट्नुमा स्वतन्त्रताको अभाव प्रमुख कारण हो। त्यसैले पत्रकार र पत्रकारिता दुवै स्वतन्त्र हुनुपर्नेमा संघ दृढ रहेको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले स्वतन्त्र पत्रकार सङ्घलाई निष्क्रिय पत्रकारहरूको संस्था नभई सक्रिय र प्रतिबद्ध पत्रकारहरूको साझा संगठन भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेतृत्व गर्न सके मात्र संगठन बलियो बन्ने धारणा राख्नुभयो। निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बास्तोलाले संघ विधानअनुसार सञ्चालन हुने बताउँदै स्वतन्त्र पत्रकारिताको मूल उपलब्धि “आत्मसन्तुष्टि” भएको उल्लेख गर्नुभयो। “कुनै आग्रह–पूर्वाग्रहबिना लेखिएको समाचारले कसैलाई हानी नपुर्याओस् भन्ने विश्वास नै पत्रकारको शक्ति हो,” उहाँले भन्नुभयो। उहाँले स्वतन्त्र पत्रकारिताबाट पेशागत जीवन धान्न सकिँदैन भन्ने धारणा गलत भएको उल्लेख गर्दै आफूले तीन दशकदेखि यही अभ्यास गर्दै आएको बताउनुभयो। साथै, बदलिँदो समयसँगै प्रविधिमैत्री पत्रकारिता अपरिहार्य बनेको भन्दै पत्रकारहरूलाई डिजिटल सीपमा सक्षम बनाउँदै पत्रकारितालाई अझ प्रभावकारी बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ।