कैलाश \ मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा राष्ट्रिय महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच नयाँ रहेका स्वयंसेविकाहरुलाई आधारभूत तालिमको सुरु गरिएको हो ।
जनस्वास्थ्य कार्यालय मकवानपुरले गाउँपालिकासँगको समन्वयमा तालिमको आयोजना गरिएको हो । तालिमलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले स्वास्थ्य क्षेत्रकै ठुलो मेरुदण्डको रुपमा स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरु रहेको बताउँदै स्वंयसेविकाहरुलाई क्षमता, ज्ञान र सीप दिइदैँ अघि बढाइने बताए ।
अध्यक्ष मुक्तानले तालिम पश्चात सिकेको सीपलाई समूदायमा गएर तपाईहरुले गर्नुपर्ने भूमिका, काम कतव्र्य र अधिकार प्रयोग गरी काम गर्न आग्रह गरे । यहाँहरुले समूदाय परिचालन र समूदायमा गएर गरिने स्वास्थ्य सेवा प्रवाहलाई ध्यानमा राखेर काम गर्न अनुरोध गरेका छन् । समूदायमा काम गर्दा पर्ने समस्या भए स्वास्थ्य शाखासँग सहकार्य र समन्वय गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले स्वास्थ्य स्वयंसेविका भइ कार्य गरेका नयाँ स्वंमसेविकालाई तालिमको आयोजना गरिएको बताए । १० जनाको संख्या पुगेपछि कार्यालयले आधारभूत तालिमहरु प्रदान गर्ने गरेका छौं, उनले भने, कैलाशमा ११ जना नयाँ भएकाले उहाँहरुको ज्ञान, सीप र क्षमता वृद्धि गर्न तालिम दिन थालिएको बताए ।
तालिम पश्चात बक्स प्रदान गर्नेछौ, त्यसमा आवश्यक पर्ने औषधि र सामाग्रीहरु रहने घिमिरेले बताए । कैलाश मकवानपुरकै विकट स्थानीय सरकार अन्तरगत पर्दछ, स्वास्थ्यको क्षेत्रमा तीन तहकै सरकारले लगानी गरिनुका साथै स्वयंसेविकाहरुको लागि पनि आवश्यक सहयोग गरिरहेको उनले बताए ।
११ जना स्वास्थ्य स्वयंसेविकाहरुको सहभागि रहेको तालिमलाई सिनियर अनमी तारा थापा र आशा गुरुङले सहजीकरण गरिने स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतमले बताए । सहभागीहरुलाई तालिम अवधिभर खाना र आवासको व्यवस्था गरिएको समेत उनले बताए । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका लेखा प्रमुख अनिता न्यौपाने, स्वयंसेविका फोलक पर्सन आयुश्मा दाहाल, उर्मिला आचार्य, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमलगायतको उपस्थिती रहेको थियो ।