भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।
सुप्रसिद्ध गायिका आशा भोसलेलाई तपाईं कसरी सम्झिनुहुन्छ ? सन् १९७३ मा रिलिज भएको फिल्म ‘बरात’को ‘चुरालिया है तुम ने’ जस्तो मेलोडियस गीतबाट, कि ‘दम मारो दम’ जस्तो अलि फास्ट बिटको गीतबाट वा नेपाली फिल्म ‘प्रेमपिण्ड’को ‘गैरी खेतको शिरै हान्यो’ वा तिहार लक्ष्मीपूजामा सिग्नेचर सङ नै बनेको ‘दियो बाली साँझको’बाट । अर्थात् आशालाई हामी हरेक शैलीका गीतबाट सम्झिन्छौँ । आइतबारबाट उनी यस्तै सम्झनामा मात्रै हुनेछिन्, किनकि सुर, मिठास र उत्कृष्ट गायनकलाकी त्रिवेणी यी गायिका अब हामीमाझ भौतिक रूपमा रहिनन् ।
आशाले औसत मानिसको भन्दा बढी जीवन जिउन पाइन् । ९२ वर्षको उमेरमा समेत उनी संगीतमै सक्रिय थिइन्, कुनै थकान थिएन, न त स्वरमा न त तनमा । आफ्नी दिदी लता मंगेशकरको छत्रछायामा उनले सांगीतिक जीवनको लय समातिन् । उनी बहिनी उषा मंगेशकर पनि प्रसिद्ध गायिका हुन् । उनको घराना नै संगीतमा डुबेको थियो ।
मराठी गीत गाएर सांगीतिक यात्रा सुरू गरिने आशाले । सन् १९४८ मा फिल्मको ‘चुनरिया’को ‘सावाँ आया’ गीतमार्फत बलिउडमा पार्श्व गायनको यात्रामा निस्किएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । चुरालिया है तुम ने जो दिलको, दिल चीज क्या है, दम मारो दम, ए मेरा दिल, जवानी जाने मन, रंगीला रे, तन्हा तन्हा लगायत एकसेएक गीत उनका लोकप्रिय भए । उनी हरेक शैली गीत गाउन सक्थिन्, के मेलोडियस, के पप, के फास्ट बिट सबैमा फिट हुन्थ्यो उनको स्वर ।
जादुयी आवाज, मीठो टोन र उत्कृष्ट गायकीले जोकोहीलाई लठ्ठ बनाउँथ्यो । सबै कुराले पूर्ण हुँदा सफलताको उच्चतम शिखर अर्थात् नम्बर वान स्थानमा पुगिन्छ । तर आशाको हकमा नम्बर वानको स्थान ‘असम्भव’ पो बनिदियो । कारण थियो, उनकी दिदी लता मंगेशकर यो स्थानमा अगाडि नै बसिसकेकी थिइन् । त्यसैले उनले आफ्नो सांगीतिक करिअरमा ‘नम्बर दुई’ सन्तोष मान्नुपरेको भारतीय संगीतकर्मीहरूको बुझाइ छ ।
आशा बालापनदेखि नै संगीतसँग जोडिइन् । उनका बुवा दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता थिए र मराठी रंगमञ्चमा सम्मानित स्थानमा थिए । दीनानाथका पाँच सन्तान हुन्- लता, मीना, आशा, उषा र हृदयनाथ । सांगीतिक घराना भएकाले त्यसको प्रभाव स्वत: पर्ने भइहाल्यो । जेठी छोरी लता सानैदेखि संगीतप्रति लगाव राख्न थालिन्, दिदीकै पाइला पछ्याउँदै आशा पनि अगाडि बढिन् । तर आशा नौ वर्षको हुँदा उनको परिवारमा गहिरो आर्थिक संकट पर्यो । त्यसपछि मंगेशकर परिवार महाराष्ट्रको आफ्नो गाउँ छाडेर मुम्बई सर्यो । १४ वर्षको उमेरमा लताले पूरै परिवारको जिम्मेवारी उठाइन्, फिल्मी दुनियाँमा संघर्ष गरिन् । यो सबैमा आशाले दिदी लतालाई साथ दिइन् । त्यसपछि दुवै दिदीबहिनीको बलिउड यात्रा सुरू भयो र उपल्लो उचाइको यात्रा तय गर्न सफल भए । लताको सन् २०२२ फेब्रुअरी ६ मा निधन भयो । त्यसको ६ वर्षपछि बहिनी आशाले पनि संसार छाडेकी छन् ।
आशाले हिन्दी र मराठी मात्रै होइन, बंगाली, पन्जाबी, भोजपुरी, नेपाली लगायत २० भाषामा १२ हजार भन्दा बढी गीत गाएकी छन् । भारतमा जस्तै नेपाली संगीतप्रेमीले पनि उनलाई उच्च सम्मान दिन्छन्, दिइरहनेछन् ।
जेन वाई भन्दा अगाडिका पुस्ताका लागि त आशाका गीत हुर्काइका सारथी नै हुन् भन्दा हुन्छ । तपाईं-हामी कसले सुनेका छैनौं र ? नारायणगोपालसँग गाएको ‘मोहनी लाग्ला है,’ ‘माया त माया हो,’ ‘पहाडको माथि माथि’ आदि । गायनमा नारायणगोपालसँग उनको जोडी खास जम्थ्यो । नेपाली स्वरसम्राटलाई आशा ‘फेवरेट सिङ्गर’ भन्थिन् ।
हामीले धेरै सुनेको गीत छ नि- ‘गैरी खेतको शिरै हान्यो’ । यो उनै आशा भोसलेले गाएको गीत हो । २०४६ सालतिर प्रदर्शनमा आएको फिल्म ‘प्रेमपिण्ड’मा समावेश यो गीतको संगीत शम्भुजीत बास्कोटाले गरेका हुन् । मुम्बई पुगेर उनले आशालाई यो गीत गाउन लगाएका थिए । संगीतकार बास्कोटाले त्यसअघि नै फिल्म ‘चेलीबेटी’का लागि ‘तिम्रो आँखाको सागरमा’ गीतमा आशासँग सहकार्य गरेका थिए ।
‘मैले दुईवटा सोलो र दुईवटा डुएट गरी चारवटा गीतमा उहाँसँग सहकार्य गरें । उहाँसँगको सहकार्य एकदमै सौहार्द्धपूर्ण रह्यो,’ बास्कोटाले रातोपाटीसँग भने, ‘नेपाली संगीतमा उहाँले पुर्याएको योगदानलाई नेपालले सदैव सम्झिनेछ ।’ बास्कोटाले आशासँग २०५४ सालमा रिलिज भएको फिल्म ‘करोडपति’को गीत ‘छुन्छन् तिमीलाई चन्चल हावा’मा सहकार्य गरेका थिए ।
बास्कोटाले २०४५ सालतिर मुम्बईस्थित भोसलेको निवास 'प्रभु कुञ्ज' मा पुगेर गीत सुनाएको क्षण सम्झिए । ‘मैले बिहान चिया खाँदै उहाँलाई 'चेलीबेटी' फिल्मको गीत सुनाएँ । मेरो कम्पोजिसन सुनेर उहाँले साह्रै मन पराउनुभयो र मुम्बईको ठुलो स्टुडियोमा रेकर्ड गरौँ भन्नुभयो,’ उनी सुनाउँछन् ।
भाषा बुझ्न र उच्चारण गर्न आशाले गर्ने मेहनत सम्झिँदै बास्कोटा भन्छन्, ‘कतिपय नेपाली शब्दहरू बङ्गाली र मराठीसँग मिल्ने हुँदा बुझ्न सहज हुन्थ्यो । नबुझेका शब्दहरूको बारेमा उहाँले सोध्नुहुन्थ्यो । मैले उहाँलाई गीतको फिलिङ, कथा र भाव अंग्रेजी वा हिन्दीमा बुझाउँथेँ । उच्चारणमा अलिकति मेहनत गर्नुपर्थ्यो, तर उहाँले निकै मिहिनेत गरेर गाउनुहुन्थ्यो ।‘
आशा भोसलेसँगको सम्बन्ध सांगीतिक मात्र नभई पारिवारिक र आत्मीय रहेको बास्कोटा बताउँछन् । ‘पछिल्लो समय उहाँसँग प्रत्यक्ष भेट नभए पनि टेलिफोनमा कुराकानी भएको थियो,’ उनी सुनाउँछन्, ‘मैले एकचोटि फोनमा कुरा गर्दा उहाँले अब बाहिर धेरै नजाने बताउनुभएको थियो । भेटौँला भन्दाभन्दै अब कहिल्यै भेट्न नपाइने भयो ।‘
आशा भोसलेको स्वरमा सरस्वतीको बास रहेको रूपमा लिन्छन् संगीतकार बास्कोटा । ‘उहाँ सरस्वतीको रूप हो । एकदमै भर्सटाइल सिङ्गर हुनुहुन्थ्यो, एनी काइन्ड अफ सङ्स सी क्यान सिङ,’ उनी भन्छन्, ‘कुनै पनि रङ्गको गीत चाहे त्यो क्लासिकल होस्, मोडर्न होस्, पप होस्, फोक (लोक) होस् सबै गाउन सक्ने क्षमता उहाँमा थियो । साँच्चिकै फिल गरेर गाउन सक्ने अद्भूत क्षमता थियो उहाँमा ।‘
बास्कोटाले आशासँग जति गीतमा सहकार्य गरे, ती सबैले एक मानक बनाए, कालजयी बनें । आज पनि यी गीत उत्तिकै सुनिन्छन् । गीत, सर्जक र कलाकार त जन्मिरहन्छन्, तर अर्को आशा कहिल्यै जन्मिनेछैन ।