कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा ऐतिहासिक घाटुनाच मेला सकिएको छ । शुक्रबार र शनिबार दुईदिन भएको घाटुनाच मेला भएको हो । मेलासँगै घाँसे गीत तथा तामाङ फापरे ह्वाई प्रतियोगिता कार्यक्रम समेत भएको थियो ।
मुख्यतः गुरुङ समुदायले मनाउने घाटुनाच पछिल्लो समय तामाङ र मगर समूदायले पनि मनाउन थालेका छन् । घाटुनाच मेला बैकुण्ठमा प्रत्येक वर्ष मनाइने गरिन्छ । घाटुनाच पारस्परिक नृत्यसँग जोडिएको हुन्छ, कुमारीहरुले यस नृत्य गर्ने गर्दछन् । नाच सुरु हुनुअघि पूजाआजा गरेर अनुमति लिने गरिन्छ । नृत्य सुरु भएपछि निश्चित समयसम्म निरन्तर चलिरहने जनाइएको छ ।
घाँसे गीत र तामाङ फापरे ह्वाई प्रतियोगिताले तामाङ समुदायको रिती रिवाज, परम्परा र कला संस्कृतिको जगेर्ना गर्ने गर्दछ । घाँसे गीत प्रतियोगितामा १८ वटा समूहले सहभागिता जनाएका थिए । जसमा पशुपति गिरी र चिनु चौहान प्रथम, मीना रिजाल र मैयाँ खत्री द्धितीय, विदुर गिरी र शंकर गिरी तृतीय र कलावती घिमिरे र बेलीमाया दियाली सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, फापरे ह्वाई गीतमा राममाया स्याङ्बोलाई २५ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
मेला व्यवस्थापन समितिका संयोजक रासुदेव स्याङ्तानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा मेला भएको थियो । अध्यक्ष मुक्तान र गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पुरस्कृत हुनेलाई नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले गाउँपालिकाभित्र मनाइने विभिन्न पर्व र मेलाहरुलाई संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको बताए । विगतका वर्षझैं यस घाटुनाच मेलामै तामाङ कला संस्कृति जगेर्ना गर्नका लागि घाँसे गीत र तामाङ फापरे ह्वाई गीत प्रतियोगिता राखिएको उनले बताए । जहाँ घाटुनाच गुञ्जिन्छ, त्यहाँ संस्कृति बोल्छ र परम्परा जिउँदो रहने अध्यक्ष मुक्तानले बताए ।
‘नाचले गाउँ, समाज र पुस्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै देवी देउताप्रतिको श्रद्धा र लोककथाको मिठास मिसिएको अनुपम प्रस्तुती हो,’ उनले भने । नाचमा गुरुङ समूदायको इतिहास, आस्था र पहिचान समेत रहेको छ ।
‘सबै धर्म, जात विशेष पर्व, परम्परागत जात्रा मेलाहरुलाई गाउँपालिकाले संरक्षण र प्रवर्द्धन गर्दै आइरहेका छौँ, हामीले यी पर्व र मेला संरक्षण गरेनौँ भने लोप भएर जान पनि सक्छ । यसका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गरी यस ऐतिहासिक विविधता भएको कैलाश गाउँपालिकाभित्रका मेला, पर्व, धर्म र संस्कृतिलाई जगेर्ना गर्नेछ,’ उनले भने ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्लले गाउँपालिकाभित्र रहेका सम्पूर्ण कला, भाषा, संस्कृति, विभिन्न पर्वहरुको प्रवर्द्धन र संरक्षण गरिनुपर्ने सबैको दायित्व रहेको बताए । घाटुनाच पुस्तौंदेखी पुस्तासम्म संस्कृति हस्तान्तरण गर्ने अमूल्य माध्यम बनेको बताए । यसलाई युवापुस्तामा हस्तान्तरण गरि परम्परालाई जोगाउने जिम्मेवारी सबैको रहेको उपाध्यक्ष मल्लले बताए ।
कार्यक्रममा वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा नम्बर ९ का अध्यक्ष भुवन सिंह घलान, कार्यपालिका सदस्य दिलमाया प्रजा, वडा २ का सदस्यद्धय फूलमाया सुनार र सूर्यबहादुर स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।