हेटौंडा \ मकवानपुरको कुलेखानी सुगौराकी सोनी तामाङ फाखेलस्थित कालिका माध्यामिक विद्यालयमा कक्षा-२ मा पढ्छिन् । गाउँमा कक्षा-३ सम्म पढेकी उनी फाखेलमा भने कक्षा-२ मा भर्ना भएकी हुन् । काठमाडौं-हेटौंडा सडकखण्डअन्तर्गत कुलेखानीनजिक सडकछेउमा उनको एक डोको लालीगुराँस छ । सोनी हातमा लालीगुराँस बोकेर ओहोरदोहोर भएका गाडीतिर दौडदै थिइन् । कति यात्रुले गुराँस किनेर लग्थे भने कतिले वास्तै गर्दैनथे ।
यहाँका बालबालिका विद्यालय समयबाहेक फुर्सदमा जंगलबाट लालीगुराँस टिपेर शनिबार सडकमा आएर बेच्छन् । गुराँस फुल्ने सिजनको शनिबार सडकमा बालबालिका समूह-समूहमा विभाजन भएर लालीगुराँस बेच्ने गर्दछन् ।
शनिबार पनि उनीहरु गाडीका यात्रुलाई लालीगुराँसका आकर्षक थुँगा देखाउँदै ‘लालीगुराँस लिनुस, लालीगुराँस लिनुस, भन्दै थिए । यसरी लालीगुराँस बेच्नेमा सोनीसँगै रोजिना बल, जेनिसा घिसिङ, बिमला घ्यावा, अशोक घिसिङ र कर्साङ बल थिए । उनीहरुजस्तै पल्लोडाँडामा अर्को समूह थियो । गुराँस बेच्नेहरु करिब ७/८ वर्षदेखि १४/१५ वर्षसम्मका थिए ।
उनीहरुमध्ये केहीले गुराँस बेचेको पैसाबाट पढाइ खर्चको जोहो गर्ने र केहीले आमाबुबालाई दिने गरेको बताए । सोनीले भनिन् ‘दिनमा २–३ सय रुपियाँसम्म गुराँस बेच्छु । त्यो पैसा के गर्छौ भन्दा जेनिसाले भनिन्–त्यो पैसाले कापिकलम किन्ने । एक थुँगा लालीगुराँस १० देखि २० रुपियाँसम्म बिक्री हुने गरेको उनीहरु बताउँछन् ।
कक्षा–१ मा पढ्ने ती बालबालिका हरेक शनिबार उक्त क्षेत्रमा लालीगुराँस बेच्न आउँछन् । जंगलमा फुलेका गुराँस टिपेर उनीहरु व्यापार गरिरहेका छन् । जेनिसा बल भन्छिन् 'कमाएको पैसा घरमा आमालाई लगेर दिने हो । कक्षा–२ मा पढ्ने बिमला घ्यावा पनि लालीगुराँस बेच्न व्यस्त थिइन । उनले पनि पढाइ खर्चकै लागि गुराँस बेच्न आएको बताइन । मकवानपुरको कुलेखानी, देउराली, चिसापानीगढी, फाखेल क्षेत्र लगायत ठाउँमा हरेक शनिबार यसरी लालीगुराँस बेच्ने बालबालिका प्रशस्त भेटिन्छन् ।
त्यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिकाका पनि बिभिन्न स्थानहरुमा निकै राम्रा गुराँसका फूलहरु फुल्न थालेका छन् । जसको सौन्दर्यले वनपाखा नै रमणीय देख्न सकिन्छ । वनपाखाहरुमा रातो गुराँसले ढकमक्क ढाक्न थालेका छन, जसले सवारीका यात्रु जो कसैको पनि मन लोभिन्छ । यतिबेला भीमफेदी गाउँपालिकाको ६ नम्बर वडाका सडकहरुमा सानासाना बालबालिकाहरु गुराँसका फूलको गुच्छा बेच्न बसेका देखिन्छन । जंगलमा फुलेका फूलको गुच्छा बनाइ हेटौंडा–काठमाडौं यात्रारत यात्रुहरुलाई बेच्ने गर्छन् उनीहरु । विशेष गरेर विद्यालय बिदा भएको समयमा बढी बालबालिकाहरु बाटोमा फूल बेच्न जान्छन् ।
देउरालीको बाटोमा गुराँसको फूलका आकर्षण गुच्छा बनाइ गाडीमा आवतजावत गर्ने यात्रुरुलाई प्रतिमुठा ५० रुपियाँमा बेच्ने गरेको कक्षा–४ मा पढ्ने एक बालिकाले बताइन् । आफू विद्यालय बिदा भएको बेला साथीहरु सँग जंगल गएर फूल टिप्ने आफैंले गुच्छा बनाइ बेच्ने गरेको उनले बताइन् । ‘स्कुल भएको बेला पढ्न जान्छु । स्कुल बिदा भएको दिन र शनिबार फूल बेच्न आउँछु । फूल बेचेर दिनको ३ सय देखि ४ सयसम्म कमाउँछु,’ ती बालिकाले बताइन् । फूल बेचेर विद्यालय जानका लागि कपिकलम किन्ने गरेको उनको भनाइ छ । आमा बुबा खेतीकिसानी गर्ने र पढ्न पनि समस्या भएकाले आफू फूल बेचेर कपिकलम किनी विद्यालय जाने गरेको उनी बताउँछिन् ।
अभिभावक नै शिक्षित नभएका कारण पनि बालबालिकालाई पढ्नुपर्छ भन्ने ज्ञान विकास अभिभावकले गर्न नसकेको भीमफेदी गाउँपालिका–६ का पूर्वअध्यक्ष सीताराम थापाको भनाइ छ । छुट्टीको समयमा मात्र नभइ विद्यालय नै जान छाडी बालबालिकाले फूल बेच्न सुरु गरेको उनले बताए । बालबालिका फूल बेच्न सडकमा उभिँदा दुर्घटनाको जोखिम रहेको उनले बताए । बारम्बार अभिभावकलाई सचेत गराउँदा पनि अभिभावकले बुझ्न नखोजेको उनको गुनासोे छ ।
बालबालिका नियमित विद्यालय आउने गरेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारसिं लामाले बताए । निम्नवर्गीय परिवारका बालबालिकालाई निःशुल्क पढाउने व्यवस्थासमेत गरेको उनले बताए । टाढाटाढाका बालबालिकालाई लिन र लैजान बसको व्यवस्था मिलाइएको र विपन्न वर्गका बालबालिकालाई निःशुल्क व्यवस्थासमेत विद्यालयले मिलाएको प्रअ लामाले बताए । कापिकलम किन्नकै लागि बालबालिकाले फूल बेचेको भन्ने कुरा सत्य नभएको उनले ठोकुवा गरे ।