मनहरी \ बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको मनहरी गाउँपालिका– ९, ज्यामिरेकी एकल महिला मिठुमाया सुनारलाई घर बनाइदिएका छन् । मुख्यमन्त्री भएपछि पाउने सेवा–सुविधाबापतको रकममा पैसा थप गरेर मुख्यमन्त्री बानियाँले सुनारलाई शाैचालयसहितको भूकम्पप्रतिरोधी तीनकोठे घर बनाएर आइतबार हस्तान्तरणसमेत गरेका छन् ।
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको उक्त घर हस्तान्तरणसँगै मिठुमाया र उनका ५ जना छोराछोरी अब आफ्नै घरमा बसोबास गर्न पाउने भएका छन्।
दसैँअघि नै निर्माण सम्पन्न गरेर घर हस्तान्तरण गर्ने योजना रहे पनि निर्माण कार्यमा केही ढिलाइ हुँदा तिहारको अवसर पारेर आइतबार घर हस्तान्तरण गरिएको हो । घर निर्माण समितिका संयोजक एवं कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाले जानकारी दिए । उनका अनुसार भूकम्पप्रतिरोधी तीनकोठे घर, शाैचालय, धारा, बिजुली बत्ती सबै गरेर चार लाख ६५ हजार रुपैयाँ खर्च भएको छ ।
सरकारी लागत अनुमानअनुसार करिब सात लाख लागतको भए पनि स्थानीयको सहयोग र विभिन्न सामग्रीमा सहुलियत पाएकाले चार लाख ६५ हजारमा निर्माण सम्पन्न भएको संयोजक बर्तौलाको भनाइ छ । घर हस्तान्तरण गरेसँगै मुख्यमन्त्री बानियाँले मिठुमायालाई जीविकोपार्जनका लागि बाख्रापालन गर्न भन्दै नगद २५ हजार रुपैयाँसमेत हस्तान्तरण गरेका छन् । यस्तै उक्त अवसरमा प्रदेश सरकारका गरिबी निवारण तथा सहकारी मन्त्री विनु रायमाझीले मिठुमायालाई भान्साको लागि आवश्यक पर्ने सामानसहित खाद्यान्नसमेत सहयोग गरेकी छिन् । उनले ती सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्रीले गरेको पुन्यको काममा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । प्रदेश सरकार प्रदेशभित्रका नागरिकको खुसीका लागि आवश्यक काम गर्न सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् ।
आफ्नो व्यक्तिगत तथा राज्यबाट प्राप्त हुने सुविधाको रकमबाट घर निर्माण गरी हस्तान्तरण गर्दै उनले मानवताको सेवा नै आफ्नो राजनीतिको मूल मर्म भएको बताए । उनले आफू बिपी कोइरालाको दर्शनबाट प्रेरित भएको उल्लेख गर्दै गरिब जनताका लागि न्याय र आय सुनिश्चित गर्नु आफ्नो जीवनको लक्ष्य भएको बताए । ‘हामीले राजनीति गरेको मानवताका लागि हो, मान्छेको सेवा गर्नको लागि हो,’ उनले भने, ‘बिपीले भन्नुभएअनुसार गरिबलाई न्याय, गरिबलाई आयको सिद्धान्तमा हामी अघि बढिरहेका छौँ । गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न हामी प्रतिबद्ध छौँ ।’ मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले प्रदेशभरिका एक हजार विपन्न परिवारका लागि घर निर्माण गर्ने योजनाको घोषणा गरेका छन् । घरसँगै छानामुनि बस्नेको खाना र नानाका लागि रोजगारीको पनि व्यवस्था गर्न सरकारले आयआर्जनका कार्यक्रम ल्याउने उनको भनाइ छ ।
मुख्यमन्त्री बानियाँले गत २० साउनमा मुख्यमन्त्री पदभार ग्रहण गर्दै आफूले प्रदेश सरकारबाट पाउने तलब, भत्ता र अन्य सेवासुविधा कटौती गरी निर्वाचन क्षेत्रका अति विपन्न परिवारका लागि घर निर्माणमा खर्च गर्ने घोषणा गरेका थिए । उक्त प्रतिबद्धताअनुसार मुख्यमन्त्री बानियाँले अरू दुई परिवारका लागि पनि घर निर्माण गरिरहेका छन्।
बानियाँको निर्वाचन क्षेत्र राक्सीराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं चेपाङका लागि निर्माण भइरहेको घर अन्तिम चरणमा पुगेको र उक्त घर कात्तिक महिनामै हस्तान्तरण गरिने लक्ष्य राखिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, मुख्यमन्त्री बानियाँकै व्यक्तिगत खर्चमा कैलाश गाउँपालिका– ४ धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ परिवारका लागि नयाँ घर निर्माण भइरहेको छ । दुवै घर निर्माणका लागि उनले गत १६ भदौमा घर निर्माण समितिलाई पहिलो किस्ताबापत दुई–दुई लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन् ।