हेटौंडा \ हेटौंडा ८ कमानेमा अवस्थित सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्था र हेटौंडा १ चौकीटोलमा अवस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था एकीकरणको अन्तिम चरणमा पुगेको छ । आगामी जेठ २३ गते बृहत संयुक्त साधारण सभा गरेर नयाँ तदर्थ समिति चयन गरिने जनाइएको छ । बचत र ऋणको कारोबार सँगै सर्वोत्तम ब्राण्डमा विभिन्न अर्ग्यानिक वस्तु उत्पादन गरी बिक्री गर्दै आइरहेको सर्वोत्तम संचिति सहकारीले सोमबार एक कार्यक्रमका बीच सुन्दर सहकारी भवनमा वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षता तथा वडा १ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा बिक्री केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले राज्यले लिएको नीति अनुरुप सहकारी एकीकरण गरी सेवा प्रवाहमा व्यापकता ल्याउने गरी दुई सहकारी एकीकरणको अन्तिम चरणमा रहेको बताए । २ वर्ष देखी एकीकरण गर्ने तयारी अनुरुप अब पूर्णता पाउन लागेको छ, सबै मिलेर जिल्लाकै उत्कृष्ट सहकारी बनाउने सदस्यहरुको दायित्व रहन्छ, उनले भने । दुबै सहकारीको सभा सँगै गरिएको एकीकरणको तयारी पछि चौकीटोलमा शेयर सदस्यको सहजता रहनेछ भन्ने हेतुले बिक्री केन्द्र सञ्चालन गरिएको बताए ।
सहकारीले अर्ग्यानिक उत्पादित वस्तु उपभोग गरि स्वस्थ रहनको लागि दैनिक उपभोग्य सामाग्रीको बिक्री गरिने उनले बताए । २३ गते हुने सभापछि समूहगत रुपमा अझ बढी छलफल र सहकारीले गर्ने सेवा प्रवाहबारे सदस्यहरुलाई जानकारी गराइने न्यौपानेले बताए । आफु यसै संस्थाको सचिव समेत रहेकाले सहकारीलाई एकीकरण गरी पुजीँलाई वृद्धि गरि सहकारी मातहतमा रहेको उद्योगलाई थप व्यवस्थित गरी सञ्चालन गरिने उनले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले ऐनमा रहेर विनियम निर्माण हुन्छ । सोहीलाई ध्यानमा राखेर सहकारीले आफ्नो सेवा प्रवाह गरिनुपर्ने बताए । दुबै सहकारीका सदस्य एकैहुन भन्ने भावनाका साथ अघि बढ्न आग्रह गर्दै संघबाट गरिनुपर्ने सहयोग आफुले गरिने प्रतिवद्धता व्यक्त गरे । नीति, विधि र पद्धतीमा रहेर सेवा गरि उत्पादित वस्तु खरिद र बिक्री गर्न जोड दिए ।

त्यस्तै, सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीले उत्पादन मुखी बनाउने भन्ने भावका साथ सहकारी एकीकरण गरिन लागेको बताए । पुजीँलाई बढाउनको लागि एक मात्र माध्यम उत्पादनमुखी कार्य रहेकाले हामीले दुई वर्षको मेहनतका साथ सहकारी एकीकरण गरिन लागिएको नकर्मीले बताए । बचत र ऋणको काम मात्रै थियो अब उद्योगका उत्पादित सामाग्री बिक्री समेत गरिने भएका छौं, उनले भने । उक्त सामाग्री खरिद र बिक्री गर्नुपर्ने हामी दुबै सहकारीको दायित्व रहन्छ ।
संस्थाका अध्यक्ष रामबहादुर बस्नेतले एकीकरणको औचित्य पूरा हुन सबै सदस्यहरुको मनोभावना बुझ्नुपर्छ । प्रत्येक सदस्यको घरमा पुगेर सहकारी र सहकारीबाट हुने सेवा प्रवाहलाई जानकारी गराउनु पर्ने बताए । एकीकरणले सदस्यहरुमा उत्साहका साथै समितिहरुमा थप जिम्मेवार बनाउँदै लगेको बताए । २३ गते सभा पश्चात तदर्थ समिति बन्ने उनले बताए । नीति, विधि र पद्धतीमा रहेर काम गर्ने बताउँदै हाम्रा आमा नीति र विधि हुन् आमालाई सधैं सँगै राख्ने छौं, उनले भने । बचत र ऋणको मात्रै काम गर्नु पर्छ भन्ने छैन्, उत्पादन सँग जोडेर हामी सहकारीलाई यहाँ सम्म ल्याएका छौं । अर्ग्यानिक सामाग्री उत्पादन गरी सदस्य र उपभोक्तालाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो । बजार सँग हाम्रो प्रतिस्पर्धा होइन, हाम्रो चाहाना सदस्यलाई स्वस्थ उत्पादित वस्तु खुवाउने मात्रै रहेको अध्यक्ष बस्नेतले बताए ।
सहकारीले ४२ वटा उत्पादित सामाग्री विक्री गर्ने गरेको छ । यो तेस्रो बिक्री केन्द्र हो, संस्थाका व्यवस्थापक राजाराम थापाले बताए । सर्वोत्तम ब्राण्डमा चनाको सातु, फापरको पिठो, मकै, तोरीको तेल, वस्तु दाना, दाल, गेडागुडी लगायत थुप्रै वस्तुहरु खरिद गरि बिक्री गर्ने गरेको थापाले बताए । सहकारीले कमाने संस्थाबाट र हेटौंडा ४ खोपेगल्लीबाट पनि उत्पादित वस्तुहरु बिक्री गर्दै आइरहेको छ ।
कार्यक्रममा दुबै सहकारीका पदाधिकारी, सञ्चालक सदस्य, सल्लाहकारहरु, शेयरसदस्यहरुको उपस्थिती रहेको थियो ।