संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बहुप्रतीक्षित शिखर सम्मेलनका लागि बुधबार बेइजिङ आइपुगेका छन् । यो अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पको सन् २०१७ पछिको पहिलो चीन भ्रमण हो । विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र क्रमशः अमेरिका र चीनका शीर्ष नेताबिच बिहीबार र शुक्रबार भेटघाट तय भएको छ । भेटमा दुई देशबिचको व्यापारमा देखिएको समस्या, ताइवानको मुद्दा, कृत्रिम बुद्धिमत्ता (एआई)देखि इरानमा जारी अमेरिकी युद्धमा वार्ता हुने अपेक्षा गरिएको छ ।
मंगलबार पत्रकारसँग बोल्दै ट्रम्पले सीसँग इरानका बारेमा ‘लामो कुराकानी’ गर्ने, तथापि मुख्य ध्यान व्यापारमा केन्द्रित हुने बताएका थिए । राष्ट्रपति ट्रम्प बेइजिङका लागि उड्नुअघि वासिंटनले चीनलाई ‘स्ट्रेट अफ हर्मुज’मा कायम तनाव कम गर्न र इरानलाई वार्तामा फर्काउन मनाइदिन आग्रह गरेको थियो । तथापि, यी प्रयास असफल भएपछि ट्रम्प बेइजिङ भ्रमणमा निस्किएका छन् ।
विश्वका दुई ठुला अर्थतन्त्रबिच मुख्यतः व्यापार, प्रविधि, ताइबानको अवस्था र इरान युद्धलगायत विषयमा तनाव भएकाले तिनका शीर्ष नेताबिच यही विषय मै छलफल हुने बताइएको छ । ट्रम्प लगभग एक दशकपछि चीनको भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति भएकाले पनि भ्रमण र शिखर सम्मेलनलाई महत्वका साथ हेरिएको छ । त्यसबाहेक शिखर वार्ता बढ्दो भूराजनीतिक र आर्थिक अनिश्चितताको समयमा हुन लागेकाले पनि विश्वको नजर बेइजिङमा हुनेछ ।
ट्रम्पको चीनको भ्रमण खासमा यसअघि मार्च ३१ देखि अप्रिल २ बिचका लागि तय गरिएको थियो । तर, इरान युद्धका कारण भ्रमण ढिलाइ हुन पुग्यो । बेइजिङका लागि प्रस्थान गर्नुअघि ट्रम्पले उनी र सीबिच इरानलगायत धेरै विषयमा ‘लामो कुराकानी’ हुने बताएका थिए ।
संयुक्त राज्य अमेरिका अझै पनि चीनको उच्च उत्पादन क्षमता र न्यून लागतको उत्पादनमाथि अधिक निर्भर छ । उता चीनका लागि अमेरिका एक महत्वपूर्ण बजार हो । त्यस्तै, चीन अमेरिकाको प्रविधि, पुँजी बजार र डलर–केन्द्रित विश्वव्यापी अर्थतन्त्रको व्यापक स्थिरतामा निर्भर छ । ‘यो अमेरिका–चीन प्रतिद्वन्द्विताको विरोधाभास हो, प्रत्येक पक्षले अर्कोबाट अलग हुन चाहन्छ, तर दुवै एक–अर्कामाथि पारस्परिक निर्भरताको संरचनामा बाँधिएका छन् । यो संरचना दुवैले आफूलाई चोट नपुर्याई सजिलै भत्काउन सक्दैनन्,’ लेइडेन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका सहप्राध्यपक साल्भाडोर स्यान्टियो रेगिलमीले भने ।
नोभेम्बरको मध्यावधि चुनावअघि मतदातालाई आर्थिक जितको रूपमा प्रस्तुत गर्न सक्ने सम्झौता देखाउनुपर्ने दबाबमा रहेकाले ट्रम्पको ध्यान बेइजिङमा मुख्यतः व्यापारमा केन्द्रित हुने अपेक्षा छ । वासिंटनले चीनलाई अमेरिकामा बन्ने बोइङ विमान, गाईको मासु र सोयाबिनलगायत अमेरिकी उत्पादनको खरिद बढाउन दबाब दिँदै आएको छ । साथै वासिंटनले केही क्षेत्रमा निकट लगानी र व्यापार सहयोग पनि खोजिरहेको छ ।
उता बेइजिङले भने अमेरिकाको उन्नत सेमिकन्डक्टरको निर्यातमा लागेको प्रतिबन्ध कम गर्न र महत्वपूर्ण चिप बनाउने प्रविधिमा पहुँच सीमित गर्ने कदम फिर्ता लिन अमेरिकालाई दबाब दिने अपेक्षा गरिएको छ । शिखर सम्मेलनमा ताइबान पनि संवेदनशील र विवादित मुद्दा रहने सम्भावना छ ।
द्विपक्षीय विवादबाहेक दुई नेताबिच इरानविरुद्ध अमरिका–इजरायलले सञ्चालन गरेको युद्ध, त्यसपछि हर्मुजवरपर देखिएको तनाव र कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो जोखिमबारे पनि छलफल हुने प्रक्षेपण छ ।
प्रविधि र आपूर्ति शृंखला पनि शिखर सम्मेलनमा प्रमुख मुद्दा बन्ने विश्लेषकले बताएका छन् । किनकि, पछिल्लो केही समयदेखि वासिंटन र बेइजिङबिच सेमिकन्डक्टर र महत्वपूर्ण खनिजमाथिको पहुँचलाई लिएर तनाव छ ।
अमेरिकाले उन्नत चिप्स र चिप बनाउने उपकरणको चीन निर्यातमाथि अवरोध कठोर पारेको छ । बेइजिङको ती उन्नत चिप्सलाई सैन्य उपकरण र सैन्यकेन्द्रित एआई विकासमा प्रयोग गर्न सक्ने वासिंटनको चिन्ता छ । यसैले, ती प्रविधिको विकास ढिलो गर्न प्रतिबन्ध आवश्यक भएको उसको तर्क छ ।
यसबिच, चीनले विश्वव्यापी रेअर अर्थको प्रशोधनमा झन्डै एकाधिकार कायम गरेको छ । सेमिकन्डक्टर, विद्युतीय सवारी साधन, सैन्य उपकरण र इलेक्ट्रोनिक्सका लागि अत्यावश्यक रेअर अर्थको लगभग ९० प्रतिशत नियन्त्रण चीनको हातमा छ । अमेरिकाले सेमिकन्डक्टरको निर्यातमा कडाइ गरेको जवाफमा चीनले यही खनिजको निर्यात नियन्त्रण जनाएको छ ।
बेइजिङले हाल कार्यान्वयनमा रहेका अमेरिकी प्रविधि प्रतिबन्ध घटाउन जोड दिने तयारी गरेको बताइएको छ । वासिंटनले निर्यात नियन्त्रण खुकुलो बनाएपछि चीन रेअर अर्थ र महत्वपूर्ण खनिजको ढुवानी पुनः सुरु गर्न चाहन्छ ।
अलजजिराबाट