मनहरी \ ९ वर्षदेखि भाडाको भवनबाट सेवा दिँदै आएको मकवानपुरको मनहरी गाउँपालिकाले आगामी महिनादेखि आफ्नै भवनबाट प्रशासनिक सेवा दिने भएको छ । निर्माणधीन भवन अन्तिम चरणमा पुगेको र असार दोस्रो सातासम्म सम्पन्न गरी हस्तान्तरण गरिसक्ने निर्माण कम्पनीले जनाएको छ ।
उक्त भवन मनहरी गाउँपालिका–९ रजैयामा छ । आव २०८३/०८४ को सुरुवातदेखि नै पालिकाको सबै कार्य नयाँ प्रशासनिक भवनबाट सम्पादन हुने प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । असारको दोस्रो सातासम्म भवन सम्पन्न गरिसक्ने जानकारी निर्माण कम्पनीले दिएको उनले सुनाए ।
८ करोड २८ लाखको लागतमा निर्माण गरिएको उक्त तीनतले भवनमा सभाहलसहित ४० वटा कोठा छन् । ६ कठ्ठा जमिनमा फैलिएको उक्त प्रशासनिक भवन निर्माणपश्चात पालिकाका सेवाग्राहीहरूले एउटै छानामुनिबाट सबै किसिमका सेवा पाउने गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले बताए । उनले भने, ‘उक्त भवन पालिकाको सिंहदरवार हो ।’
गत चैत महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि नसकेकाले तीन महिना म्याद थप गरी असार मसान्तसम्म पुर्याइएको छ । समय थप गरेबमोजिम आगामी असार दोस्रो सातासम्म भवन निर्माण सकेर पालिकालाई हस्तान्तरण गर्ने योजना रहेको पालिकाका प्राविधिक प्रमुख टुकराज चौधरीले बताए ।
पालिकाले ९ वर्षदेखि घर भाडामा लिएर पालिकावासीलाई सेवा प्रदान गर्दै आएको छ । मनहरी र हाँडीखोला गाउँ विकास समिति समेटेर मनहरी गाउँपालिका बनाएको हो । मनहरी गाउँपालिकाको केन्द्र रजैया रहेको छ ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिकाको भवन र बागमती गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । राक्सिराङ, कैलाश, भीमफेदी मकवानपुरगढी र वकैया गाउँपालिकाको प्रशासनिक भवन गत वर्ष नै निर्माण गरिसकेको छ । हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाको प्रशासनिक भवन साविककै भवनमा सञ्चालन गर्दै आएको छ ।