मकवानपुर \ बागमती प्रदेश सरकारका मन्त्रालय तथा प्रशासनिक संरचना एकै परिसरमा निर्माण गर्ने तयारीस्वरुप निर्माणस्थलमा धमाधम रुख छपानको काम भइरहेको छ ।
प्रदेश सरकार गठन भएको सात वर्षपछि बल्ल आफ्नै स्थायी प्रशासनिक भवन निर्माणका लागि हेटौँडा–१६ र १७ को सामुदायिक वनको जग्गामा भवन बनाउने अनुमति पाएसँगै रुख कटानका लागि छपान कार्य सुरु गरिएको हो ।
प्रदेश सरकारले हेटौँडामा एकीकृत प्रशासनिक संरचना निर्माणको काम अघि बढाएसँगै डिभिजन वन कार्यालय मकवानपुरले उक्त क्षेत्रमा रहेका रुखको छपान कार्य सुरु गरेको हो । प्रदेश सरकारले मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवाससमेत एउटै परिसरमा राख्ने गरी एकीकृत प्रशासनिक भवन निर्माणको तयारी गरेको छ ।
प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ र १७ मा रहेको ३१.२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रशासनिक भवन निर्माणका लागि प्रयोग गर्न पाउने गरी प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि वन क्षेत्र खाली गर्ने प्रक्रिया अघि बढाएको डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख राकेश चन्द्रवंशीले जानकारी दिए । उनका अनुसार २०८२ चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त क्षेत्र प्रदेश सरकारलाई भोगाधिकारस्वरुप उपलब्ध गराइएको थियो । सो क्षेत्रमध्ये २७.५७ हेक्टर घ्याम्पे र चुरेकाली सामुदायिक वन क्षेत्रमा पर्छ भने ३.४५ हेक्टर विद्यालय तथा सार्वजनिक जग्गा रहेको उनले बताए ।
चन्द्रवंशीका अनुसार भवन निर्माणका लागि उक्त क्षेत्रमा रहेका विभिन्न प्रजातिका ५ हजार २२६ वटा रुख तथा पोल हटाउन वन विभागले अनुमति दिइसकेको छ । ४/५ दिनभित्र छपानको काम सकिएपछि रुख कटानको काम सुरु गर्ने उनले बताए । रुख कटान गरी सम्बन्धित सामुदायिक वन समितिलाई जिम्मा लगाइने उनको भनाइ छ ।
प्रादेशिक संरचना निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार संरचना निर्माणका क्रममा ५ हजार २४४ वटा रुख काटिनेछन्, जसमा सबैभन्दा बढी २ हजार ३७२ सिसौ र १ हजार ९३७ खोटे सल्लाका रुख छन् । रुख कटानबाट करिब १ हजार ६४३ घनमिटर काठ र १ हजार ६४२ घनमिटर दाउरा उत्पादन हुने अनुमान छ ।
संघीय सरकारको वन तथा भू–संरक्षण विभाग र बागमती प्रदेश सरकारबिच वन क्षेत्र उपयोगसम्बन्धी सम्झौता गत वैशाख २८ मा सम्पन्न भइसकेको चन्द्रवंशीले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार विभागसँग औपचारिक सम्झौता गरेको उनको भनाइ छ ।