इन्द्रसरोवर \ उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित मार्खु तालछेऊमा करिब ७ वर्षदेखि होटल व्यवसाय गर्दै आएकी सुमिना भोम्जनले कहिले बाटो बन्द हुने त कहिले पुननिर्माण हुने क्रम चलिरहँदा पछिल्लो समय होटल व्यवसाय मर्कामा परेको बताएकी छन् । उनले मार्खुको तालछेऊमा होटल दीप एण्ड लज सञ्चालन गरेकी छन् । उनले पछिल्लो समय भने व्यवसाय चलाउन निकै मुस्किल भएको गुनासो गरिन् । ‘केहि समयअघि सामाजिक सञ्जालकै भरमा लज खोज्दै पर्यटकहरु आउँथे । ती पर्यटकहरुले अन्यलाई प्रचारप्रसार गरेर अरु पनि आउनुहुन्थ्यो । होटल र लजमा पर्यटक भरिभराउ हुन्थ्यो । हामीलाई पनि काम भ्याइनभ्याइ हुन्थ्यो,’ उनले विगत सुनाइन् ।
‘पहिला मार्खु घुम्न आएको संख्या थेगिनसक्नु हुन्थ्यो । हाल त फाट्टफुट्टमात्र पर्यटक हुन्छन् । व्यवसाय चलाउनै गाह्रो । यसपाली त पर्ययटक देख्न नि मुस्किल परेको छ । कतिपय होटल त बन्द भइसकेका छन् । जति खुलेका छन्, त्यसमा पनि न पर्यटक आउँछन् न त कामदार नै टिकाउन सकेका छौं । यस्तै रह्यो भने यहाँ होटल सञ्चालन गरेका व्यवसायीको भविष्य कस्तो होला,’ उनले दुःखेसो पोखिन् ।
आफ्नो होटलमा प्रायः काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडालगायत ठाउँका मानिस आउने गरेको उनले बताइन् । पछिल्लो समय बाटो पुनर्निमार्णको काम भइरहेको हुँदा होटल व्यवसायीहरु मर्कामा परेका छन् । नयाँ वर्ष नजिकिँदै गर्दा मार्खु घुम्न आउने पर्यटक कम भएपछि होटल व्यवसायी चिन्तित बन्न पुगेका हुन् । अब विस्तारै अवस्था सामान्य होला भन्ने आश छ,’ उनले भनिन् ।
देशको जुनसुकै ठाउँमा पनि बाटो बनिरहेका छन् । सरकारले कसैसँग सरसल्लाह नगरी बाटो आवगमन बन्द गर्दा मार्खुका होटल, लज, रेष्टुराँलाई मार परेको इन्द्रसरोवर गाउँपालिका–२ का अध्यक्ष सुमन श्रेष्ठले बताए । चारैतिर बाटो निर्माण भइरहेको हुँदा पर्यटकको आगमनमा कम भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । बाटो निर्माण भए पनि एकतर्फी बाटो सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए । व्यवसायीहरु प्रायः वडामा गुनासो पोख्ने गरेको तर वडाले केही पहल गर्नै नसकेको उनले बताएका छन् । नयाँ वर्ष नजिकिएसँगै बाटो पुननिर्माण कार्यसम्पन्न गरी पर्यटकलाई सजिलो बनाउने र उनीहरु घुम्न आउने अपेक्षा रहेको उनको भनाइ छ ।
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर आन्तरिक एवम् वाह्य पर्यटकको गन्तव्य बन्दै गएको छ । स्थानीयले डुङ्गा सञ्चालनमा ल्याएपछि इन्द्रसरोवरमा पर्यटक आकर्षित भएका हुन् । इन्द्रसरोवरमा डुङ्गासयर गर्न काठमाडौंदेखि आउने गरेका छन् । विशेषगरि शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । इन्द्रसरोवर गाउँपालिका–१ ले पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले इन्द्रसरोवर तालमा पाइडल बोट (डुङ्गा) खरिद गरेको थियो । इन्द्रसरोवरमा पाइडल बोट सञ्चालन गरेपछि डुङ्गा चढ्नेको संख्या बढेको समेत छ ।
एउटा पाइडल बोटमा चार जनासम्म चढेर सयर गर्न मिल्छ । सरोवरमा पाइडल बोटमा मात्र होइन, काठका चालीस वटा डुङ्गा सञ्चालनमा छन् । इन्द्रसरोवर क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले तत्कालीन जिविस मकवानपुरले १३ लाख लागतमा २ वटा इञ्जिन मोटरबोट खरिद गरी सरोवरका मत्स्य व्यवसायी संघलाई उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणले असुरक्षा र सरोवरका माछा मर्नेलगायत कारण देखाएर मोटरबोट चल्न रोक लगायो । हाल ती मोटरबोट उपयोगविहीन बनेका छन् । काठको डुङ्गा र पाइडलबाट चल्ने बोटलाई भने प्राधिकरणले अवरोध पु¥याएको छैन । ७ किलोमिटर लम्बाई र ३ सय मिटर चौडाईको उक्त सरोवरको सैनिक इलाका क्षेत्रमा डुङ्गा चलाउन भने पाइन्न ।
सन् १९७७ ताका राजा वीरेन्द्रको शासनकालमा मार्खुवरपरका खोलाखोल्सीलाई बाँध बाँधेर जलाशय बनाउने र उक्त जलाशयबाट विद्युत् निकाल्ने योजनासहित निर्माण सुरु भएको हो इन्द्रसरोवर । सन् १९८२ मा ६० मेघावाट्को कुलेखानी प्रथम जलविद्युत् आयोजना पूरा भएको हो । हालसम्म उक्त जलाशयबाट कुलेखानी दोस्रो (३२ मेघावाट्) र कुलेखानी तेस्रो (१४ मेघावाट्) जलविद्युत् आयोजना सञ्चालनमा छन् ।
इन्द्रसरोवर तालमा गत वर्ष ६ लाख माछाका भुरा छाडिएका थिए । बागमती प्रदेशअन्तर्गत् मत्स्य विकास केन्द्रको आयोजनामा इन्द्रसरोवर गाउँपालिकास्थित उक्त तालमा विभिन्न जातका माछाका भुरा छाडिएको हो । तालमा कमन, रहु, नैनी र सिल्भरलगायत जातका माछाका भुरा छाडिएका छन् । यसअघि गत साउनमा पनि तालमा २ लाख माछाका भुरा छाडिएको थियो । जलीय जैविक विविधता संरक्षण तथा स्थानीय कृषकको आयआर्जनमा थप टेवा पु¥याउन तालमा माछाका भुरा छाडिएको बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बताएको छ । उक्त क्षेत्रका स्थानीय लामो समयदेखि तालमा माछा मारेर गुजारा चलाउँदै आएका छन् । स्थानीयको अर्थोपार्जनलाई मध्यनजर गर्दै मन्त्रालयले पनि चासो देखाएपछि तालमा आश्रित माछा मारेर गुजारा चलाउनेहरु लाभान्वित भएको स्थानीय अञ्जु घर्तीमगरले बताएकी छन् ।
वर्तमान समयमा जलाशयलाई वर्खायाममा पानीलाई संकलन गरेर राख्ने र हिउँदमा अन्य खोलानालाबाट उत्पादन नहुने विद्युत् घट्दा र संघीय राजधानीलगायत अन्य ठाउँको विद्युत् मागलाई पूरा गर्न जलाशयको पानी प्रयोग गरिने छ । तर, हालै उक्त परियोजनाको सुरुङमार्गको मर्मत गर्नुपर्ने भएकाले तालको पानी घटाइएको छ । जसले तालसँग आश्रित समुदाय तथा व्यवसाय धरासयी हुन पुगेको छ । घट्दो तालको पानीको सतहले ताललाई कुरुपमात्र नबनाइ यसलाई आधार मानेर गरिएको सामूहिक माछापालन, डुङ्गा, मोटरबोट तथा होटल, रिसोर्ट व्यवसाय पनि प्रभावित भएका छन् ।