हेटौँडा \ मातृ तथा शिशु सुरक्षा, पोषण, सचेतनाका कार्यक्रम सञ्चालन हुन थालेपछि आमा र शिशुको स्वास्थ्यमा सुधारसँगै पछिल्लो समयमा मातृ मृत्युको दर घट्दै गएको छ । मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा मातृ मृत्यु शून्य रहेको जनस्वास्थ्य कार्यालय, मकवानपुरले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जिल्लास्थित स्वास्थ्य संस्थामा दर्ता भएको अभिलेख अनुसार मकवानपुरमा गत आवमा मातृ मृत्यु शून्य र नवजात शिशु ११ जनाको मृत्यु भएको छ ।
जिल्लास्थित बर्थिङ सेन्टरमा दर्ता अभिलेख अनुसार मृत्यु भएका नवजात शिशुमध्ये स्वास्थ्य संस्थामा धेरै सङ्ख्यामा नवजात शिशुको मृत्यु भएको जनस्वास्थ्य कार्यालयसँग तथ्याङ्क छ । गत आवमा स्वास्थ्य संस्थामा सात र बाहिर चार जना नवजात शिशुको मृत्यु भएको थियो । गत आवमा मकवानपुर जिल्लामा आमा सेवा पाएका सुत्केरीको विवरण अनुसार घरमा भएका सुत्केरी हुनेभन्दा संस्थागत सुत्केरी गराउनेको सङ्ख्या बढी छ ।
जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घिमिरेले आमा र शिशुसम्बन्धी सचेतनामा वृद्धिसँगै राज्यले संस्थागत सुत्केरी गराउनेलाई सुविधा दिन थालेपछि संस्थागत सुत्केरी गराउनेको सङ्ख्या क्रमशः बढ्दो रहेको बताउनुभयो । गत आवमा मकवानपुरमा संस्थागत सुत्केरी गराउनेको सङ्ख्या २० वर्षमुनिका ५२१ र २० वर्षमाथिका चार हजार ३९८ गरी चार हजार ९१९ जना थियो । यस्तै २० वर्षमुनिका २३ र २० वर्षमाथिका ११८ गरी १४१ जना घरमा सुत्केरी भएका थिए ।
पालिकास्थित स्वास्थ्य संस्थामा दर्ता भएको अभिलेख अनुसार संस्थागत सुत्केरी गराउनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा तीन हजार ३९१ र सबैभन्दा कम इन्द्रसरोवरमा ५५ जना रहेका थिए । यस्तै घरमा सुत्केरी हुनेमा सबैभन्दा बढी कैलाश गाउँपालिका ३९ तथा थाहा नगरपालिका र मनहरी गाउँपालिकामा शून्य रहेको स्वास्थ्य संस्थामा दर्ता भएको अभिलेख प्राप्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
साथै गत आवमा बागमती गाउँपालिका एक तथा इन्द्रसरोवर र मकवानपुरगढी गाउँपालिकामा दुई/दुई जना घरमा सुत्केरी भएको स्वास्थ्य संस्थामा दर्ता भएको अभिलेख रहेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घिमिरेले सुनाउनुभयो । उता गत आवमा मकवानपुरमा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेभन्दा घरमा सुत्केरी हुने प्रतिशत बढी छ । जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आवमा स्वास्थ्य संस्थामा १०.६ प्रतिशत सुत्केरी भएकोमा घरमा १६.३ प्रतिशत सुत्केरी हुने रहेका थिए । १० वटा पालिका रहेको मकवानपुर जिल्लामा ५३ वटा बर्थिङ सेन्टर छन् । सबैभन्दा बढी बर्थिङ सेन्टर थाहा नगरपालिकामा १२ र बकैया गाउँपालिकामा नौ वटा छन् ।
हेटौँडा उपमहानगर क्षेत्रमा हेटौँडा अस्पताल बाहेक दुई स्थानमा, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिका र राक्सिराङ गाउँपालिकामा चार/चार स्थानमा, कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकामा पाँच/पाँच स्थानमा तथा मनहरी गाउँपालिकामा तीन स्थानमा बर्थिङ सेन्टरबाट संस्थागत सुत्केरी गराउने गरिएको जनस्वास्थ्य कार्यालय, मकवानपुरले जनाएको छ ।