हेटौँडा \ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई कांग्रेस संसदीय दलको नेताबाट हटाउने उद्देश्यसहित पार्टीका २१ सांसदले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका छन्। शुक्रबार प्रदेश सभाको दलका सचिव कृष्णकुमार तामाङ समक्ष कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा अविस्वास प्रस्ताव बुझाइएको हो।
संसदीय दलको अभिलेखअनुसार आर्थिक वर्ष २०८२/०८३ को दर्ता नम्बर ०२ मा प्रस्ताव दर्ता भएको छ। प्रस्तावमा भनिएको छ, ‘मुख्यमन्त्री लामाको नेतृत्वमा रहँदा न प्रतिपक्षको भूमिका प्रभावकारी रहन सक्यो, न त सरकारको नेतृत्व गर्दा परिणाम देखियो। यसले पार्टीको छवि गम्भीर रूपमा धुमिल भएको छ।’
मुख्यमन्त्री लामाको नेतृत्वका कारण सरकार तथा प्रतिपक्षमा रहँदा कांग्रेसको भूमिका कमजोर रहेको अविश्वासको प्रस्तावमा उल्लेख छ। पछिल्लोपटक फरक समीकरणमा २ पटक सरकारमा रहेको कांग्रेसबाट लामाले अर्थमन्त्री र मुख्यमन्त्री बन्ने अवसर पाएपनि प्रभावकारी कार्य सम्पादन गर्न नसेकको आरोप लगाइएको छ।
‘माननीय बहादुर सिंह लामा (तामाङ)को नेतृत्वमा प्रमुख प्रतिपक्षको रुपमा हाम्रो भूमिका सशक्त हुन नसकेको पनि हामीले महसुस गरेका छौं। साथै उहाँ अर्थमन्त्री रहँदा बजेट निर्माणमा हामीले गर्नसक्ने जति गर्न पनि सकेनौं। फलस्वरुप नेपाली कांग्रेस बागमती प्रदेशका तेह्रवटै जिल्लाका पार्टीका साथीहरुमा नैराश्यता छाउनुको साथै जनतामा प्रदेश संरचनाप्रति वितृष्णा पैदा भएको स्मरण गराउँछौं,’ अविश्वास प्रस्तावमा भनिएको छ, ‘नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनेको अवधिमा पनि माननीय बहादुरसिंह लामा (तामाङ)ले विनियोजित बजेटसमेत प्रभावकारी कार्यान्वयन गर्न सक्नुभएन। राजश्व संकलन र खर्चको स्थिति नाजुक छ, प्रदेशका जनताले महसुस हुनेगरी कुनै सेवा पाएका छैनन्। त्यतिमात्र नभई गत वर्ष असोज ११ देखि १३ सम्म आएको अविरल बर्षा र बाढीबाट पीडितहरुले अझै राहत पाएका छैनन्। पुनर्निमाणले प्राथमिकता पाउन सकेको छैन।’
प्रदेश संसदीय दल र प्रदेश कार्यसमितिबीच सहकार्य हुनसकेको अविश्वास प्रस्तावमा उल्लेख छ। नियुक्तिहरुमा पार्टी, संसदीय दल र सरकारका बिच समन्वय शून्य रहेको समेत लामामाथि आरोप लगाइएको छ। गणतन्त्र, संघीयता र वर्तमान संविधानप्रति विभिन्न आरोपसहितका आवाजहरु उठ्दा समेत मुख्यमन्त्रीले कुनै कदम चाल्न नसकेको प्रस्तावमा भनिएको छ।
एक वर्षको अवधिमा संसदीय दलको बैठक तीनपटक मात्र बसेको र एउटा मात्र संशोधन विधेयक पारित भएको प्रस्तावमा उल्लेख छ। सरकारले प्रदेश सभामा नयाँ विधेयकहरु प्रस्तुत गर्न नसकेका कारण प्रदेश सभाले विजनेस पाउन नसकेकाले सरकार र सदन सञ्चालनमा प्रदेश सभाका सदस्यहरुको भूमिका गौण हुन पुगेको आरोप लगाइएको छ।
गत आवमा प्रदेश सरकारले तय गरेका कार्यक्रमहरुअन्तर्गत विनियोजित बजेट लक्ष्यअनुसार खर्च हुन नसकेको तथा आफ्नै पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य मुख्यमन्त्री र अर्थमन्त्री हुँदा समेत चालु आर्थिक वर्षको बजेट विवादमुक्त हुन नसकेको सांसदहरुको आरोप छ।
जनतामाझ कांग्रेसको छवि दिनप्रतिदिन कमजोर बन्दै गएको र अर्कोतिर सरकारका कामकारवाहीका कारण प्रदेशप्रति नै जनआक्रोश बढेकाले कांग्रेसको छवि सुधार्नु आजको प्रमुख आवश्यकता देखिएको अविश्वास प्रस्तावमा भनिएको छ। उक्त कार्य वर्तमान संसदीय दलका नेताको नेतृत्वमा सम्भव नभएकाले संसदीय दलको नेतृत्व परिवर्तनको विकल्प नरहेको निश्कर्ष सांसदहरुले निकालेका छन्।
सोही निश्कर्षसहित नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा १८ को उपधारा ६ वमोजिम २१ जना सांसदहरुको हस्ताक्षरमा नेता लामामाथि अविश्वासको प्रस्ताव पेश गरिएको हो। उक्त संख्या कुल सांसदको बहुमत रहेकाले लामालाई नेताबाट हटाएर ईन्द्रबहादुर बानियाँलाई प्रदेश सभा संसदीय दलको नेता चयन गर्न माग गरिएको छ। ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ सदस्य छन्। अविश्वास प्रस्ताव दर्ताको समयमा २१ मध्ये १८ सांसदहरु सहभागी थिए। तीनजना सांसदले भने हस्ताक्षर गरेपनि उपस्थित भएनन्।
दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधानअनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्ने हुन्छ। प्रदेश संसदीय दलको विधानको धारा १८ अनुसार दर्ता भएपछि १५ दिनभित्र दलको बैठक बोलाउनुपर्ने हुन्छ।
बागमतीका चार मन्त्रीले दिए राजीनामा
बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल छन् । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको स्रोतले जनाएको छ ।