मनहरी \ मकवानपुरको मनहरी गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको गाउँसभाले चालु आव २०८२\०८३ को बजेटमा उल्लेखित केही आयोजना तथा कार्यक्रमहरु संशोधन गर्ने निर्णय गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले गाउँसभामा विभिन्न ३७ वटा योजनाहरु संशोधनको लागि पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मत स्विकृत भएको हो ।
गाउँसभामा उपाध्यक्ष पुलामीले पेश गरेको आर्थिक ऐन २०८२ को पहिलो संशोधन प्रस्ताव पनि स्विकृत भएको छ । यस्तै गाउँसभामा सुशासन तथा संस्थागत विकास समिति संयोजक ठाकुर तितुङले पेश गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि स्विकृत भएको छ । गाउँसभाको शुन्य समयमा सभा सदस्य हिराबहादुर प्रजा, नवराज सुवेदी, रामप्रसाद सुवेदीलगायतले समसामयिक विषय तथा समस्याको बारेमा आफ्ना धारणा राखेका थिए । गाउँसभामा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले समसामयिक विषयमा आफ्ना धारणाहरुसहित १८ औँ अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।
यसैबीच मनहरी गाउँपालिकाको प्रतिक चिन्हसमेत सार्वजनिक गरिएको छ । गाउँपालिकाको नारा ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारः समृद्ध मनहरीको आधार’ लेखिएको प्रतिक चिन्हमा वन्यजन्तु, मानिसहरूको विविधतायुक्त चित्र, कृषक र अन्नबालीको चित्र, प्राकृतिक दृश्य, नेपालको झण्डा समेटिएको छ । रातो, नीलो र हरियो रङको प्रयोग गरी हेटौँडाकी संहिता पौडेलले प्रतिक चिन्ह निर्माण गरेकी हुन् ।
कार्यपालिका बैठकबाट यसअघि नै स्वीकृत भएको प्रतिक चिन्ह गाउँसभाका बीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सार्वजनिक गरेका हुन् । लोगोले मनहरी गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, पर्यावरणीय र भौगोलिक पक्षहरूलाई एकै साथ उजागर गर्ने लोगो निर्माण समितिका संयोजक वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए ।