कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा कमलादेवी माविकी सदिक्षा गुरुङ प्रथम भएकी छिन् । उनी सोमबार भएको प्रतियोगितामा सामाजिक सञ्जाल अवसर की चुनौति भन्ने विषयमा आफ्ना धारणा राख्दै प्रथम भएकी हुन् । उनले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
त्यस्तै, प्रतियोगितामा सोही विद्यालयका अभिषेक सारुमगर द्धितीय भएका छन् । उनले नगद सात हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने कालिका माविका कृष मोक्तान तृतीय भएका छन् । मुक्तानले नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ९ जनाको सहभागीता रहेको थियो ।
गाउँपालिका अध्यक्ष एंव गाउँ शिक्षा समितिका संयोजक लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, सामाजिक विकास संयोजक तथा वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले वक्तृत्वकला कार्यक्रमले विद्यार्थीहरुमा व्यक्तित्व र नेतृत्वका साथै वाक कलाको प्रस्तुतीकरणको विकास रहने बताए । समय सान्दर्भिक विषयवस्तुले गर्दा सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगको असरबारे ज्ञान बढ्ने बताए । यसको अवसर र चुनौति दुबै छन्, गुगल र च्याटजिपिटीको भर पर्नाले पठनपाठनमा कमी हुँदै क्रियटिभ तरिकाले अघि बढ्न सकिरहेका छैनौं जसले गर्दा बौद्धिक कुरामा कम हुन्छ, मुक्तानले भने ।
सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । मानव बेचविखन, दुव्र्यवहार, हिंसा लगायतका कार्य भइरहेको छ, त्यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।
कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले यी यस्ता कार्यक्रमले तार्किक र बौद्धिक क्षमतामा बृद्धि हुने बताए । सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग बराबरको अवस्था रहेको छ, सदुपयोगले विकास हुन्छ दुरुपयोगले विनास समेत हुनेछ, उपाध्यक्ष मल्लले भने ।
प्रतियोगिताको शिक्षा शाखा प्रमुख समीर जोशी, शिक्षिका धनकुमारी जोशी र शिक्षक सीताराम श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए ।