हेटौंडा \ हेटौंडामा चैत्र २ गतेदेखि सञ्चालित आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० को चौथो दिन सोमबार कृषि सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बागमती प्रदेशको कृषि विकास निर्देशनालयका अधिकृत राजन चौलागाई र मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीबीच अन्तरक्रिया गरिएको थियो ।
आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० का कृषि समितिका संयोजक निलम पाण्डेले संयोजन गरेको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, पूर्व अध्यक्षहरु उत्तमशर्मा ढकाल, अरुणराज सुमार्गी, संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष सन्तोष कुमार अर्याललगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका अधिकृत तथा सूचना अधिकारी राजन चौलागाईले राज्यको आर्थिक श्रोत बलियो नभएकाले छिमेकी देशले कृषकहरुलाई ठूलो अनुदान दिइरहदा नेपालमा कृषकहरुलाई पर्याप्त सुविधा दिन नसकेको बताएका छन् । उनले किसानका लागि १० देखि १५ लाख लागत पर्ने कोल्ड चेम्बरहरु निर्माण गरिरहेको बताउँदै न्यूनतम समर्थन मूल्य तोक्न पनि राज्यको अर्थतन्त्र बलियो नभएकोले व्यवहारिक नभएको बताए । त्यसको सट्टामा कृषि उपजका व्यवसायीहरुसंग अग्रिम सम्झौता गरी कृषकले उत्पादन गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
त्यस्तै, मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार पालिकाहरुले कृषि कार्यक्रमको कार्यविधि निर्माण गर्ने, नियमन र अनुगमन गर्ने व्यवस्था बारे बताए । उनले नेपालमा उद्योग, कृषि र आवासको लागि भूउपयोग नीति नभएको, कृषिमा उन्नत प्रविधिको विकास नभएको र भएको हकमा पनि सहज पहुँच नरहेको, कृषि उत्पादनमा लागत नउठ्ने समस्या रहेको, कृषि क्षेत्रका जनशक्ति पलायन भइरहेको, वैदेशिक कृषि उपज उत्पादनका लागि किसानलाई धेरै अनुदान दिइएको सँग अनुदान नगण्य रहेका नेपाली उत्पादनले प्रतिष्पर्धा गर्न नसकेको बताए ।
उनले जलवायु परिवर्तनले उत्पादनमा ह्रास आएको, कृषि उत्पादनको माग र आपूर्ति असन्तुलित रहेको, कृषि उपजको आयात बढिरहेको, न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने, आधुनिक प्रविधिहरुको कारण कृषिको जैविक विविधतामा ह्रास हुँदै गएको, केन्द्र, प्रदेश र स्थानीय तहले कृषि सम्बन्धी धेरै कामहरु गरेको भएपनि पूर्णरुपमा प्रभावकारी हुन नसकेको बताएका थिए ।
कृषि उद्यमी फेन्चु लामा, नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कृष्ण हुमागाई, कैलाश गाउँपालिकाका पूर्व अध्यक्ष तथा व्यवसायिक बाख्रापालक संघका प्रदेश अध्यक्ष टंक मोक्तान र संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले कार्यक्रममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा २३ प्रतिशत योगदान गरेको, जल, मल, उन्नज बिऊ, बजारिकरण र कोल्ड स्टोर भए कृषि क्षेत्र अघि बढ्ने, राज्यको कृषिमा लगानी बढिरहेको तर उत्पादन घटिरहेको अवस्थाको समाधान खोजिनू पर्ने, देशका सफल उद्यमी तथा घरानाहरुलाई कृषिमा लगानी गर्न आकर्षित गर्नुपर्ने, तरकारी आयात गर्न सहज तर निर्यात गर्न जटिलता रहेकोले समाधान खोजिनुपर्ने, एउटा ठाउँबाट अर्को जिल्ला सामान ढुवानी गर्दा किसानलाई पनि भि.सि.टि.यस. खोजिनाले समस्या भइरहेको अवस्थामा अहिले राष्ट्र रहेको सहभागिहरुले आवाज उठाएका थिए ।
राज्यको कृषिमा लगानी बाझोँ जमिनमा बिऊ रोपेर उत्पादन खोजेको जस्तो रहेको, भारतीय खसीबोका आफ्नो भनि बोर्डर छेउका पालिकाहरुले सिफारिस गरिदिंदा सहजै काठमाडौं पुग्ने गरेकोले स्थानीय कृषकहरुलाई अन्याय भइरहेको, अतिवृष्टी, अनावृष्टीलगायतका कारणले कृषकहरुको सम्पूर्ण बाली नोक्सान हुँदा दशौं वर्ष पछि धकेलिनु पर्ने बाध्यता रहेको, नियमन नहुँदा डल्लो च्याउको रासायनिक मल गैरकानूनी रुपमा आयात गर्नुपरेको, छिमेक देशमा ९० प्रतिशतसम्म कृषिमा अनुदान रहेकोले प्रतिष्पर्धा गर्न हाम्रो देशमा पनि किसानलाई अनुदान दिनुपर्ने, कृषिलाई यान्त्रिकीकरण गर्नुपर्ने, कृषि मजदुरलाई ठूलो चोटपटक लाग्दा राज्यले नै उपचार गर्ने व्यवस्था गरिदिनुपर्ने, कोल्ड चेम्बरको विद्युत महशुल राज्यले निःशुल्क गरिदिनु पर्नेलगायतका विषयहरुमा चर्चा गरिएको थियो ।
आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी भोली चैत्र ६ गते मंगलबारसम्म रहनेछ ।