२९ असोज, कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै समुदायलाई घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुरक्षित खानेपानी प्रयोग गर्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । एक घर एक धारा पुर्याउने लक्ष्य अनुरुप विभिन्न संस्थाहरुसँगको साझेदारीमा गाउँपालिकाले खानेपानी र सरसफाइमा काम गर्दै आइरहेको बताए । सरसफाइ र खानेपानी परिपुरक रहेकाले सबैले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको उनले बताए । विभिन्न मापदण्डमा रहेर गरिएकोमा यसको लागत साझेदारी छ, दीगोपना बनाउनु पर्ने हाम्रो कतव्र्य हो, मुक्तानले भने । मर्मत सम्भार र संरक्षणको काम अब समितिको रहेको बताए । खानेपानीको मुहान दर्ता गर्नुपर्ने बताउँदै मुहानको बीमा गरिए विपत्को अवस्थामा बीमा रकमले निर्माण गर्न सकिने बताए ।
वडा ७ का वडाध्यक्ष उदास कुमार भोलनको सभाध्यक्षतामा भएको विलाउने टोलको कार्यक्रममा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका जिल्ला संयोजक लीलबहादुर कार्की, वडा ७ का वडा सचिव युगचन्द्र भट्टराई, ङिको स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर, बिलाउने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नीरशंकर मुक्तान लगायतको आतिथ्यता रहेको थियो । बिलाउने टोलमा उक्त कार्यक्रममा २६ घरधुरी लाभान्वित रहेको जिल्ला संयोजक कार्कीले बताए । कार्यक्रममा वडाध्यक्ष भोलनले घरघरमा रहेको धाराको पानीलाई सदुपयोग गरि मर्मत र संरक्षणको लागि समिति चुस्तदुरुस्त अवस्थामा रहनुपर्ने बताए । दीगोरुपमा निरन्तरता दिनका लागि सबै घरधुरीको सक्रिय सहभागिता रहनुपर्ने उनले बताए ।
त्यस्तै, कैलाश ८ रुपराङ्ग-रान्चुराङ्ग टोललाई पनि आजै घोषणा गरिएको छ । वडा अध्यक्ष आशिष प्रजाको सभाध्यक्षतामा टोल गाउँपालिका अध्यक्ष मुक्तानले घोषणा गरेका हुन् । उक्त टोलमा भने ४४ घरधुरी लाभान्वित भएका छन् । रुपराङको कार्यक्रममा वडा सदस्य विपीराज थिङ, मित्रकुमारी मुक्तान, आरआरएनका संयोजक लीलबहादुर कार्की, भार्ता स्वास्थ्य चौकीका सिनियर अहेव शोभा राना, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष विष्णुलाल प्रजालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष प्रजाले मुहानदेखी धारासम्मको संरक्षण हाम्रो दायित्व हो, लामा समयपछि रुपराङमा घरघरमा पानी आएको अवस्था छ, हामीले साझेदारी कार्यक्रम अन्तरगत अर्को टोलमा पनि कार्यक्रम गरिने बताए ।
आरआरएन, जर्मन सरकारको डब्लुएचएच संस्थाको सहयोगमा गाउँपालिकाले साझेदारीमा खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । कैलाशको वडा ७ र ८ मा पहिलो पटककै एक घर एक धारा अभियान अन्तरगत यी दुई टोल घोषणा गरिएको संयोजक कार्कीले बताए ।