हेटौंडा \ प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले अब स्थानीय तहमा खानेपानी बोर्ड स्थापना गरिनुपर्ने बताए । आइतबार हेटौंडामा खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अब स्थानीय सरकारले पालिकाभित्र खानेपानी बोर्ड स्थापना गरि खानेपानी तथा सरसफाइको काम गरिनुपर्ने बताए । उपभोक्ता समिति त छदैँछ अब नीति तथा कार्यक्रममा समेट्दै बोर्ड स्थापना गर्न उनले आग्रह गरे ।
आफुपनि विगतमा खानेपानी र सरसफाईको क्षेत्रमा बिताइएकाले यस क्षेत्रको विकासलाई नजिकबाट नियाल्दै आइरहेको बताए । सुरक्षित खानेपानी र सरसफाईलाई सुनिश्चिता गर्न सुरुमा पूर्ण दिशामुक्त अभियान गरिनुपर्ने उपाध्यक्ष नेपालले बताए । यस क्षेत्रमा काम गर्दा दीगोपना तर्फ उन्मुख भएर जानुपर्ने बताउँदै दीगोविकास लक्ष्य हासिल गर्ने उद्देश्यले क्रियाकलाप गरिनुपर्ने बताए ।
खानेपानी र सफाइको क्षेत्रमा काम गरि दीगो विकास हासिल गर्न अग्रसर रहनुपर्ने गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापामगरले बताए । अन्य विकासको कार्य संगसंगै खानेपानी,सरसफाई तथा स्वच्छतामा पनि न्यायोचित ढङ्गले काम गर्नुपर्छ, उनले भने । बागमती प्रदेश भित्र ७४ वटा गाउँपालिका रहेको छ, महासंघले खानेपानी सरसफाईको क्षेत्रमा समेत नीतिगत सहयोग र स्रोतको परिचालनमा आवश्यक पैरवी गर्दै आइरहेको छ, अध्यक्ष थापामगरले भने ।
उनले जनप्रतिनिधिहरुमा शिक्षा र क्षमता कम रहेकाले पनि कर्मचारीसँग तालमेल नमिलेको अवस्थाले जनप्रतिनिधिहरुलाई आवश्यक क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिम आवश्यक रहेको बताए । संघीयता बलियो बनाउन वडा, पालिका हुँदै प्रदेशलाई बलियो बनाउनु पर्ने उनले जोड दिए ।
भौगोलिक विकटता सँगै चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको मकवानपुरका राक्सिराङ र कैलाशमा नागरिकहरुमा व्यवहार परिवर्तन ल्याउन सके सुरक्षित खानेपानी र सरसफाई क्षेत्रमा परिवर्तन ल्याउन सकिने कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । समूदायमा समूह निर्माण गरि दीगोपना कायम गर्ने गरि खानेपानी र सरसफाइको क्षेत्रमा काम भइरहेको उनले बताए । कैलाशमा आरआरएन सँग त सहकार्य जारी रहिरहेको बेला हामीले वाइन टु वाटरसँग खानेपानीको क्षेत्रमा काम गर्न सम्झौता गरिसकेका छौं, अध्यक्ष मुक्तानले भने । गाउँपालिकामा ऐन निर्माण भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा दीगो विकास लक्ष्य २०३० पुरा गर्न तीन तहको सरकारसँगको सहकार्यमा काम गर्दै अघि बढिरहेको उनले बताए ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको दुई दिने कार्यशाला गोष्ठीमा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापामगर, महासंघ केन्द्रीय सदस्य एंव कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, राक्सिराङका उपाध्यक्ष बनस्तम थिङ, कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघ प्रदेश अध्यक्ष बद्रीप्रसाद देवकोटा, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट, आरआरएनका कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, डब्लुडब्लुएचका वास विज्ञ विजु डंगोल, गाउँपालिका राष्ट्रिय महासंघका समन्वय अधिकृत रुपेश दुलाल,आरआरएनका जिल्ला संयोजक लिलबहादुर कार्कीको आतिथ्यता रहेको थियो । कार्यक्रममा राक्सिराङ र कैलाश गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।
उक्त कार्यक्रम नेपाल ग्रामीण पुनर्निर्माण संस्था.(आरआरएन) र वेल्ट हंगर हिल्फे(डब्लुएचएच)को संयुक्त आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सञ्चालन भएको हो ।