हेटौँडा \ चलिरहेका दुई सरकारी सिमेन्ट उद्योगलाई १५ वैशाखको मन्त्रिपरिषद् बैठकले निजीकरण गर्ने निर्णय गरेपछि अहिले बन्द गरिएको छ । निजीकरण गर्ने सरकारी निर्णयलाई सघाउ पुर्याउन व्यवस्थापनले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग बन्द गराएका हुन् ।
मन्त्रिपरिषद् बैठकले निजीकरण गर्ने निर्णय लिएको पाँच दिनपछि २० वैशाखमै हेटौँडा सिमेन्ट बन्द गरिएको थियो भने उदयपुर सिमेन्ट उद्योगले मौज्दातमा रहेको कोइला सकेर आइतबारदेखि उत्पादन रोकेको छ । क्लिंकर उत्पादन रोकेका दुवै उद्योगले अहिले सिमेन्ट बिक्रीका लागि उद्योग खुला राखेको जनाएका छन् ।
उदयपुर सिमेन्टका निमित्त महाप्रबन्धक महेशप्रसाद साहले कोइला अभावका कारण उद्योग बन्द गरेको जानकारी दिए । १५ दिन चलेको उद्योगले सात करोड मूल्यको सिमेन्ट उत्पादन गरेको बताए । ‘१५ दिन चलेर चार हजार आठ सय मेट्रिकटन सिमेन्ट उत्पादन गरी कोइला अभावमा उद्योग बन्द भएको हो,’ उनले भने । उदयपुर सिमेन्टलाई व्यवस्थापकीय रूपमा कमजोर बनाउन सरकारले करिब दुई वर्षदेखि महाप्रबन्धकसमेत नियुक्त गरेको छैन । २५ जेठ ०८० मा तत्कालीन महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले राजीनामा दिएयता साहले निमित्त जिम्मेवारी पाइरहेका छन् ।
साहले तुरुन्तै कोइला किन्ने पैसा अभाव भएकाले उद्योग बन्द गरेको जिकिर गरेका छन् । तर, दैनिक खपतका आधारमा कोइला अभाव नहुने गरी किनेर मौज्दात राख्ने विगतको अभ्यास थियो । यसपटक उद्योग बन्द गराउने नियत राखेरै कोइलाको मौज्दात सकाएको स्रोतको भनाइ छ ।
साहले सरकारबाट प्राप्त गरेको १६ करोड ऋणबाट मर्मत गरी उद्योग चलाएको र ६ करोड रुपैयाँ बाँकी रहेको जानकारी दिए । ‘मर्मतपछि नियमित रूपमा सिमेन्ट उत्पादन गर्ने क्षमता विकास भएको छ,’ साहले भने, ‘तर, निजीकरण गर्ने सरकारको तयारी छ । यसबिचमा कोइला नै अभावका कारण बन्द गर्नुपर्ने बाध्यता पनि भयो ।’ केही नीतिगत र आर्थिक सहयोग गरे उद्योग निजीकरण नगरी पूर्ण क्षमतामा चलाउन सक्ने साहको दाबी छ । ‘उद्योग कुन र कस्तो मोडालिटीमा निजीकरण हुने हो भनेर काम गर्न पनि हतोत्साहित भइरहेको स्थिति छ । उद्योगको सम्पत्तिको मूल्यांकन कसरी हुन्छ भन्ने कुराको अन्योल भएको छ ।’
हेटौँडा सिमेन्ट पनि १० दिनअघिबाटै बन्द छ । उद्योगमन्त्री दामोदर भण्डारीले आफूअनुकूलको निर्णय गराउन उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गरेका छन् । चैत अन्तिम साताबाट सञ्चालनमा आएको उद्योगको क्लिंकर उत्पादन गरेर तयारी सिमेन्ट बोरामा प्याकेजिङ गर्ने र ढुंगा क्रसिङ गर्ने काम मात्रै भइरहेको निमित्त प्रबन्धक नवीन कर्णले जानकारी दिए ।
‘उद्योगको किल १० दिनदेखि बन्द छ । मर्मतको काम चलिरहेकाले एक–दुई दिनभित्रमै किल सञ्चालनमा आउँछ,’ उनले भने, ‘ढुंगा क्रसिङ र प्याकेजिङको काम भने चलिरहेको छ ।’ उत्पादन बन्द गरिएको उद्योगमा ५६ हजार बोरा सिमेन्ट मौज्दात रहेको र बिक्रीबाट प्राप्त रकमले तत्काललाई उद्योग सञ्चालन खर्च व्यवस्था गर्ने उनले जानकारी दिए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले निजीकरणको सूचीमा परेको हेटौँडा सिमेन्ट उद्योग र जीर्ण रहेको हेटौँडा कपडा उद्योगको स्वामित्व प्रदेशलाई दिए नाफामा चलाएर देखाउने बताएका छन् ।
हेटौँडामा आयोजित ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा बोल्दै उनले भने, ‘हेटौँडा सिमेन्ट र कपडा उद्योग प्रदेश सरकारलाई चलाउन दिइयो भने दुई वर्षमै नाफामा लैजान सक्छौँ । यस विषयमा हामीले अध्ययन, अनुगमन गरिसकेका छौँ,’ उनले भने ।
उनले संघीय सरकारको गलत मानसिकताले सरकारी उद्योगहरू रुग्ण अवस्थामा पुगेको आरोप पनि लगाए । प्रदेशमा उपलब्ध जनशक्ति र स्रोतका भरमा दुवै उद्योगलाई पुनः सञ्चालन गर्न सक्ने क्षमता भए पनि अधिकार नदिएको उनले गुनासो गरे । -नयाँपत्रिकाबाट