हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफूविरुद्ध परेको अविश्वास प्रस्ताव सामना गर्न रणनीतिक तयारी थालेका छन् । आज बस्ने नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रस्तावमाथि छलफल हुने भनिए पनि लामाले प्रक्रिया लम्ब्याउनेदेखि संसद् विघटनसम्मको रणनीति बनाएका छन् ।
मुख्यमन्त्री लामाविरुद्ध नेपाली कांग्रेसका २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि उनले पहिलो चरणमा २४ घण्टाको समय माग गर्ने रणनीति बनाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले हाल दक्षिण कोरियामा रहेका कारण उनी नफर्केसम्म प्रस्तावमा छलफल नहोस् भन्ने लामाको माग रहनेछ ।
यदि समय माग सफल भयो भने मुख्यमन्त्री लामाले पार्टी नेताहरूसँग लबिङ गर्नेसमेत तयारी गरेका छन् । तर, माग असफल भएमा उनी कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नजिर देखाउँदै आफू दलको नेता नभए पनि मुख्यमन्त्री रहन सक्ने दाबी गर्दै अघि बढ्ने योजना बनाएका छन् । ‘अब प्रक्रियाबाट अघि बढ्दा मैले दल नेता नहुँदैमा मुख्यमन्त्री हुन नहुने अवस्था होइन,’ उनले भने, ‘विभिन्न उपायहरू छन् । म मुख्यमन्त्रीबाट तुरुन्तै हट्दिनँ । मसँग थुप्रै विकल्प छन् ।’
मुख्यमन्त्री लामाका अनुसार अन्तिम विकल्पका रूपमा प्रदेश सभा विघटनसमेतको तयारी गरिएको छ । उनले एमालेसहित सत्तासाझेदार दलहरूबाट समेत संसद् विघटनको सुझाव आएको स्वीकार गर्दै भने, ‘मेरो अन्तिम प्रहार संसद् विघटन हो ? अवस्थाले सिर्जना गर्यो भने निर्णय गर्न सकिन्छ ।’ उनले आफूविरुद्धको अविश्वास प्रस्ताव पार्टीभित्रको असन्तोष र व्यक्तिविशेषप्रतिको असहमतिका कारण आएको आरोप लगाए ।
खासगरी कांग्रेसका सांसद शिवराज अधिकारीलाई मन्त्री नबनाएको विषयमा आन्तरिक असन्तोष चुलिँदै गएको र त्यसकै परिणामस्वरूप प्रस्ताव आएको लामाको दाबी छ । ‘शिवराजजी निरन्तर सभापतिसँग जानुभयो । पार्टी सभापतिलाई कुरा लाउने बढी भए । बजेटको विषयमा पनि अलि विवाद भयो । अर्थमन्त्रीको बर्खास्तीबारे सल्लाह गर्ने भनिएको थियो । तर, त्यसअघि नै अविश्वास प्रस्ताव आयो,’ उनले भने । अबको राजनीतिक समीकरण र कांग्रेस संसदीय दलको निर्णयले बागमतीको सत्ताको भविष्य निर्धारण गर्ने देखिएको छ ।