हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपाली श्रमिकप्रति शुभकामना व्यक्त गरेका छन् । उनले श्रमिकहरूको एकता, संघर्ष र बलिदानले प्राप्त गरेको ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को अधिकारलाई स्मरण गर्दै यसको संरक्षण र कार्यान्वयनमा जोड दिएका छन् ।
मुख्यमन्त्री बानियाँले श्रमिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै सन् १८८६ को अमेरिकास्थित आन्दोलन र त्यसपछिका अन्तर्राष्ट्रिय प्रयासहरूले श्रमिक अधिकार स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएको बताए । उनले श्रमिक दिवसलाई श्रमजीवी वर्गको एकता, समर्पण र विजयको प्रतीकका रूपमा लिने गरिएको उल्लेख गरे ।
उनका अनुसार नेपालमा पनि श्रमिकहरूको हक–हित सुनिश्चित गर्दै सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध छ। बागमती प्रदेश सरकारले श्रम बजारको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति उत्पादन, सुरक्षित र मर्यादित रोजगारीको वातावरण निर्माण तथा वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने नीति लिएको उनले बताए ।
स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य बढाएर युवालाई सीपमूलक तालिम र रोजगारीका अवसर प्रदान गरिने बताए । श्रमिकको अधिकार संरक्षण, सामाजिक सुरक्षा विस्तार र उत्पादनशील क्षेत्रमा लगानी वृद्धि सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे ।
मुख्यमन्त्री बानियाँले विश्वभरका श्रमिकहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रमको सम्मान र अधिकारको सुनिश्चिततामा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।