मनहरी \ मकवानपुरको मनहरी गाउँपालिका ३ मा रहेको लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः रघुनाथ खतिवडा आरएन चयन भएका छन् । शनिबार भएको वन समूहको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनले खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । वन समूहको उपाध्यक्षमा जयराम राई, सचिव विष्णुमाया बल, सहसचिव अनिल राई, कोषाध्यक्ष होतप्रसाद अधिकारी तथा सदस्यमा रामप्रसाद गौतम, रामजी सिन्तान, श्रीकृष्ण खड्का, अर्जुनबहादुर ओली, शिव राई, ओमप्रसाद चौलागाइँ, इन्दिरा राई र फूलमाया मोक्तान चयन भएको निर्वाचन संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।
५ वर्षीय कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका खतिवडाले सबैलाई समेट्दै वन समूहको संस्थागत विकास एवम् उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । आफ्नो कार्यकालमा वन समूहको नयाँ भवन निर्माणसँगै वन्यजन्तुबाट बाली जोगाउन मेस जाली निर्माण, उपभोक्तालाई सहज रुपमा काठ दाउराको व्यवस्थालगायतका कार्य गरिएको उनले जानकारी दिए । खतिवडाको अध्यक्षतामा भएको साधारणसभामा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । उनले लामिटार मध्यवर्ती सामुदायिक वन समूहले राम्रो काम गर्दै आएकोमा प्रशंसा गर्दै संस्थागत विकास एवम् उपभोक्ताको हितका लागि गाउँपालिका सहयोग र सहकार्यका लागि सदैव तयार रहेको उनको भनाई थियो । ‘हामीले पनि यहाँको जनताकै हितका निम्ति योजनाबद्ध काम गरिरहेका छौं ।
वन समिति, टोल विकास संस्था, क्लवलगायतका संघसंस्थासँगको सहकार्य अत्यन्तै जरुरी छ’, कालाखेतीले भने । कार्यक्रममा मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष सीताराम अर्याल, पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज मण्डल, मसिने शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष रामहरि विष्ट, लामिटार वन समूहका सहसचिव विष्णुमाया बललगायतले मन्तव्य व्यक्त गरेको निर्वाचन समिति सदस्य मनोज चौलागाइँले जानकारी दिए । साधारणसभाले कोषाध्यक्ष होतप्रसाद अधिकारीको आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो । यो वन समूह २०५३ सालमा स्थापना भएको हो ।