कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मंगलबारबाट कार्यक्रम सुरु भएको छ । प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ कैलाश ९ मा अवस्थित कालिका माविमा कार्यक्रमको सुरुवात भएको हो ।
वडा ९ का वडाध्यक्ष भूवन सिं घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले पछिल्लो समय प्रविधिको दुरुपयोगले हिंसाको घटनाको संख्या बढ्दो रहेको बताए । सामाजिक सञ्जाल दुरुपयोगले विभिन्न हिंसाको शिकार बालबालिका बनिरहेको अवस्थाका प्रविधिलाई सहि सदुपयोग गर्न उनले आग्रह गरेका छन् ।
साइवर अपराधले धेरै बालबालिका र युवाहरु कैदी जीवन बिताउन बाध्य छन् । लागुऔषध प्रयोगकर्तामा बालबालिकाको संख्या बढिरहेको अवस्थामा बालबालिकालाई सचेत गराउनुपर्ने हामी सबैको दायित्व रहेको छ उनले भने । प्रविधिको फाइदालाई लिने हो, बेफाइदाजति त्याग्नुपर्छ ।
कार्यक्रममा वडा अध्यक्ष घलानले प्रविधिको सहि प्रयोग गर्न बालबालिकालाई आग्रह गर्दै दुरुपयोग हुँदा दण्ड सजाय समेत हुने उनले बताए । हिंसा र प्रविधिसँग जोडिएका विषयवस्तु बारे सहजीकरण पश्चात बालबालिकाहरुले सोही अनुरुप ग्रहण गरिदिन अध्यक्ष घलानले आग्रह गरेका थिए ।
कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख रमिला सापकोटा, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रशिक्षक आशिष दुलाल, विद्यालयका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको महिला तथा बालबालिका शाखाका प्रमुख रमिला सापकोटाले बताईन् । आजै कैलाश १० मा रहेको रत्नज्योति माविका विद्यार्थीहरुलाई पनि हिंसा र प्रविधिको प्रयोगबारे जानकारी गराइएको उनले बताईन् । बुधबार कैलाश ३ को भवानी मावि र वडा ८ को धुवाङ माविमा कार्यक्रम सञ्चालन गरिने सापकोटाले बताईन् ।