हेटौँडा \ सडक विस्तारका क्रममा घर-टहरा भत्किए पनि हेटौँडा राप्तिरोडका व्यापारीहरू भग्नावशेषमै बसेर व्यापार गर्न बाध्य बनेका छन् । भत्किएका संरचना, इँटा- ढुंगा, काठ र रडका थुप्राहरू र अस्तव्यस्त परिवेशकै बीच उनीहरूले पुरानै सटर अगाडि कपडा, जुत्ता–चप्पल, फलफूलदेखि घरायसी दैनिक सामग्री फिँजाएर व्यापार सुरु गरेका हुन् ।
मङ्सिर २० गते शनिबार, पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन कार्यालयले २५ गजभित्रका संरचना हटाएपछि अधिकांश व्यापारीका सटर र पसल भत्किएका थिए ।
आकस्मिक रूपमा भएको घटनाले व्यवसाय ठप्प हुने जोखिम बढेपछि उनीहरूले वैकल्पिक उपायस्वरूप खुला आकाशमुनि व्यापार सञ्चालन गर्न थालेका हुन् । विशेषगरी राप्ती रोड क्षेत्रमा व्यापारीहरू भग्नावशेषकै बीच त्रिपाल टाँगेर वा खुला ठाउँमै जाडोका कपडा, जुत्ता–चप्पल, फलफूल तथा उपभोग्य सामग्री सजाइराखेका छन्।
सुविधा विहीन स्थानमा राखिएका सामान किन्न ग्राहकहरूको भीड लागिरहनुले बजार गतिविधि पुनः चलायमान बनेको देखिन्छ । भौतिक संरचना गुमे पनि व्यवसाय बचाइराख्न इट्टा, ढुंगा, काठकै थुप्रैमाथी बसेर उनीहरु व्यापार गरिरहेका छन् । धेरै व्यापारीहरू भौतिक संरचना गुमाएपछि व्यवसाय गुम्ने होकि भन्ने चिन्ताले खुला व्यापारलाई निरन्तरता दिएको बताउछ्न । 'व्यापार नै गुम्ने हो कि भन्ने चिन्ता थियो, त्यसैले भत्केको ठाउँमै पसल चलाइरहेका छौँ,' एक व्यापारीले भने ।
सडक विस्तारका कारण क्षति पुगेका व्यापार पुनः सञ्चालनका लागि राहत, पुनर्स्थापना र वैकल्पिक व्यवस्थापन गरिदिन उनिहरुले सरकारसँग आग्रह गरे ।