कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सरकारको कुनै धर्म हुँदैन र सबै धर्म रक्षा गर्नुपर्ने हाम्रो दायित्व रहेको बताएका छन् । इसाई एकता समाज कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय येशु ख्रीष्टको जन्मोत्सव(ख्रीष्टमस)को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जात धर्म र कला संस्कृतिको जर्गेना सरकारले गर्ने बताए ।
हामी सबै धर्मालम्बीहरुमा सामूहिक एकता आवश्यकता पर्दछ । आफ्नो संस्कार उठाउन सकेनौ भने हामी कहिल्यै पनि एकताको सुत्रभित्र बाध्न सक्दैनौ, उनले भने । सबै धर्म बराबर हुन्, स्थानीय सरकारले सबै मेला, जात्रा र पर्व मनाउनलाई आवश्यक बजेट विनियोजन गरेका छौं ।
अन्य पर्वमा धेरै दिन बिदा रहने हुँदा क्रिसमसमा एक दिन मात्रै बिदा हुने भएकाले इसाई धर्मालम्बीहरुको संस्कार र परिधिभित्र बसेर यसवर्ष गाउँपालिकाले क्रिसमस डे पर्वका लागि तीन दिन बिदा दिने अध्यक्ष मुक्तानले घोषणा गरेका छन् ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले पर्वले मानिसमा एकताको भाव जगाउने बताए । धर्म, परम्परा र रितिरिवाज आफ्नो आफ्नो छ, सबैको रक्षा सरकारले गर्ने बताए । उनले धार्मिक सहिष्णुता अब्बल भए समाजमा परिवर्तन हुने समेत बताएका छन् ।
इसाई एकता समाजका अध्यक्ष आशिष थिङको अध्यक्षतामा भएको कार्यक्रममा वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा ३ का अध्यक्ष देवलाल बल, वडा ४ का अध्यक्ष तिलक बहादुर मुक्तान, वडा ७ का अध्यक्ष उदास कुमार भोलन, वडा ८ का अध्यक्ष आशिष प्रजा, एनसिएफ नेपालका अध्यक्ष रेभरेन हनोक तामाङ, कार्यपालिका सदस्यहरु राममाया प्रजा, सुन्तली सुनुवार, सम्झना मुक्तान, दिलमाया थिङ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न मण्डलीका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कैलाशमा ४२ वटा विभिन्न मण्डलीहरुमा करिब पाँच हजार इसाई धर्मालम्बीहरु रहेका छन् ।