हेटौँडा \ हेटौँडा बजारको मुख्य सडक विस्तारका क्रममा सडक डिभिजन कार्यालयले डोजर प्रयोग गरी भत्काएका भौतिक संरचनाको उचित व्यवस्थापन हुन सकेको छैन । भत्काइएका संरचनाका भग्नावशेष, आधा भत्किएका घरका ढलान, झुन्डिएका रड–तार तथा इँटाका थुप्राले कुनै पनि वेला ठुलो दुर्घटना निम्त्याउन सक्ने अवस्था छ ।
सडक किनार र फुटपाथमै थुप्रिएका ढलानका टुक्रा, इँटा, रड, ढलेका विद्युत् पोल तथा झुन्डिएका बिजुली र इन्टरनेटका तारका कारण पैदलयात्री मुख्य सडकमै हिँड्न बाध्य छन् । यसले सवारी दुर्घटनाको जोखिमसमेत बढाएको छ । भग्नावशेषकै बिचमा व्यापार गरिरहेका व्यवसायी र किनमेल गर्न आउने ग्राहकहरू पनि जोखिममा परेका छन् ।
मुख्य बजार क्षेत्रमा विद्यार्थी, बालबालिका, बिरामी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई आवतजावत गर्न झनै कठिन बनेको छ । कतिपय स्थानमा डोजर चलाइएपछि संरचना थप कमजोर बनेका छन् । घरको अगाडिको भाग मात्र भत्काइएकाले बाँकी संरचना जुनसुकै वेला ढल्न सक्ने अवस्थामा रहेको स्थानीयले बताएका छन् । २० मंसिरमा सडक डिभिजन कार्यालय हेटौँडाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि चौकीटोल ओरालोसम्मका सडक किनारका घरटहरा डोजर लगाएर भत्काएको थियो ।
एक सातामै पाँच मजदुर घाइते
सडक विस्तारका क्रममा डोजर चलाएर धराप बनाइएका घर समयमै सुरक्षित नगर्दा र न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा दुर्घटनाको शृंखला बढेको छ । एक सातामा धराप अवस्थामा छाडिएका घर सफाइ गर्ने क्रममा पाँचजना मजदुर घाइते भएका छन् । आइतबार हेटौँडा उपमहानगरपालिका– १ उद्योग वाणिज्य संघ अगाडि रहेको बिकी जैसवालको घर सफाइ गर्ने क्रममा तीनजना मजदुर घाइते भए । घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका– १ रानीसेरा बस्ने २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका– ९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका– १ पुरन्दाका ३० वर्षीय अरुण चौधरी छन् । यसअघि शुक्रबार हेटौँडा उपमहानगरपालिका– २ मा घर सफाइ गर्ने क्रममा पर्सा कालिकामाई गाउँपालिका– ९ जानकीटोलका १८ वर्षीय द्वारिका यादव घरबाट खसेर घाइते भएका थिए । बुधबार हेटौँडा उपमहानगरपालिका– १ मै सडक डिभिजनले धराप पारेर छाडेको घर सफाइ गर्ने क्रममा दुईतले माथिल्लो ढलान खस्दा रौतहट माधवनारायण नगरपालिका– ७ का १९ वर्षीय जितेन्द्र माझी घाइते भएका थिए ।
प्रशासन भन्छ– भग्नावशेष हटाउन समन्वय गरिरहेका छौँ
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सडक विस्तारका क्रममा भत्किएका संरचना र सडकपेटीमा थुप्रिएका सामग्री व्यवस्थापनका लागि प्रशासन निरन्तर समन्वयमा रहेको बताए । सडक डिभिजन कार्यालयको मुख्य जिम्मेवारी भए पनि प्रशासनले सुरक्षा र सहजीकरणको भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । - नयाँपत्रिका