एन बी अन्जान \ पोर्चुगल तमु समुदायको मौलिक पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तमु समाजद्वारा आयोजित तमु ल्होसार २०८२ पोर्चुगलको पारदिल्होमा भव्य, अनुशासित तथा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका अध्यक्ष विकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी, साहित्यकार तथा अनेसास पोर्चुगलका सल्लाहकार आरपी पन्त प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथिले आफ्नो मन्तव्यमा प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र पहिचानलाई जगेर्ना गर्दै पुस्तान्तरण गर्न तमु समाजले निर्वाह गरिरहेको भूमिकाको उच्च प्रशंसा गरे । यस्ता कार्यक्रमहरूले समुदायबीच आपसी एकता, सद्भाव र सामाजिक चेतनालाई थप सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गरे ।
कार्यक्रमको आध्यात्मिक पक्षलाई सशक्त बनाउँदै लामा गुरु धनबहादुर गुरुङले विधिवत् पूजा–आराधना तथा मन्त्रोच्चारण गरेका थिए। उहाँले सहभागी सबैलाई गलामा धागो बाँधी आशीर्वाद प्रदान गर्नुभएको यस अवसरले कार्यक्रमलाई सांस्कृतिक मात्र नभई आध्यात्मिक रूपमा पनि अर्थपूर्ण बनाएको उपस्थितहरूको भनाइ थियो।
कार्यक्रमको सञ्चालन चक्रवीर गुरुङले शालीन, सुसंस्कृत र प्रभावकारी शैलीमा गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि सिीता थापा तथा अतिथि सारा अलमेदाले कार्यक्रमको व्यवस्थापन, सहभागिता र उद्देश्यप्रति प्रशंसा व्यक्त गरिन्।
त्यसैगरी, Nepalese Community Pardilho का अध्यक्ष प्रकाश खड्काले मन्तव्य राख्दै विदेशमा नेपाली राहदानी बोकेर बसोबास गरिरहेका सबै नेपालीहरूको पीडा, संघर्ष र आकांक्षा साझा रहेको उल्लेख गरे । उहाँले दुःख–सुखमा आपसी सहकार्य र एकताको आवश्यकता औंल्याउँदै प्रवासमा रहेका सबै नेपालीहरू एउटै भावनात्मक सूत्रमा बाँधिएको धारणा व्यक्त गरे ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत गुरुङ तथा नेपाली भाषामा आधारित गीत–नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै तमु समुदायको सांस्कृतिक सम्पन्नतालाई उजागर गरेको थियो। कलाकारहरूको प्रस्तुति दर्शकबाट मुक्तकण्ठले प्रशंसित भयो।
प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई जीवन्त राख्ने तमु समुदायको सामूहिक प्रतिबद्धता, सांस्कृतिक चेतना र सामाजिक एकताको सशक्त उदाहरणका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।