-पोष्टराज अधिकारी, नयाँपत्रिका
हेटौँडा \ बागमतीको राजधानी हेटौँडा उपमहानगर– ११ को सिमलटार । राजधानीको मुटुमै रहेको यो बस्ती सम्भवतः उपमहानगरकै सबैभन्दा ठुलो टोल विकास संस्था हो, जहाँ २३ सयभन्दा बढी घरधुरीको बसोबास छ । यहाँ थरीथरीका घर छन्, आँगन छन् । र, बालबालिकाको मुहारमा हाँसो छ । चुनावका वेला झन्डा र पोस्टरले रंगिने गल्लीहरू पनि छन् । तर, छैन त एउटा कागजी लालपुर्जा । तीन दशकदेखि एउटै प्रश्न यहाँका बासिन्दाको ओठमा छ– हातमा लालपुर्जा कहिले आउँछ ?
०५२ साल पुस ६ गते, विभिन्न ठाउँबाट आएका करिब १७ सय परिवारले छाप्रो हालेर सुरु गरेको बसोबास आज २३ सयभन्दा बढी घरधुरीको स्थायी बस्ती बनेको छ । यसबिचमा यहाँ सडक बने, बिजुली बल्यो, खानेपानी आयो र ढल निकासको पनि व्यवस्था भएको छ । समग्रमा भन्दा राजधानीको सुविधा यहाँसम्म आइसकेको छ । तर, स्वामित्वको प्रमाण मानिने जग्गाधनी पुर्जा पुगेको छैन । बस्तीका सबैको लालपुर्जा पाउने सपना अधुरै छ । लालपुर्जा नहुँदा यहाँका घरहरू कानुनी हिसाबले अधुरा छन् । घर धितो राखेर ऋण लिन पाइँदैन । भविष्य सुरक्षित छ भन्ने भरोसा छैन । पुस्तौँदेखि बसोबास गरिरहे पनि कानुनको नजरमा अस्थायी छन् । यही असुरक्षाले सिमलटारलाई केवल बस्ती होइन, एउटा प्रतीक्षालय बनाइदिएको छ ।
एउटै टोलमा यति ठुलो जनसंख्या रहेकाले यस क्षेत्रलाई मकवानपुर क्षेत्र नम्बर २ को ‘भोट बैंक’का रूपमा हेरिन्छ । त्यसैले चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू मत माग्दै टोलटोल घुमिरहेका छन् । उम्मेदवारको भाषणमा विकास, समृद्धि, रोजगारी र नयाँ सपना आउँछन् । तर, मत माग्न आउने हरेक उम्मेदवारलाई स्थानीयले सुरुमै एउटै प्रश्न सोध्छन्– अनि लालपुर्जाचाहिँ खोइ ? हरेक उम्मेदवारले पहिलाजस्तै एउटै जवाफ दिन्छन्– चुनाव जितेपछि यसपटक हुन्छ ।
चारवटा निर्वाचन पार गरिसकेका सिमलटारवासीले धेरै घोषणापत्र सुने । धेरै वाचा र धेरै आश्वासन पनि पाए । त्यसैले स्थानीय रामबहादुर थिङको आक्रोश छ । भन्छन्, ‘हरेक चुनावमा ‘हामीले नै गर्ने हो’ भनेर भोट माग्छन् । जितेपछि फर्केर हेर्दैनन् । अब त स्पष्ट कार्ययोजना चाहियो । जसले आधार र ग्यारेन्टी दिन्छ, उसैलाई भोट दिन्छौँ ।’
यस्तै, लक्ष्मी विश्वकर्माको प्रश्न र उत्तर छ, ‘हामी कहिलेसम्म सुकुमवासी नै हुने ? ३० वर्ष भयो यहाँ बसेको । बाटो आयो, पानी आयो, बिजुली आयो । तर, लालपुर्जा आएन । अब लालपुर्जा दिनेलाई मात्रै भोट ।’सिमलटार टोल विकास संस्था र राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले यसपटक चुनावी माहोललाई दबाबको अवसर बनाएका छन् । उम्मेदवारहरूलाई भेटेरै ध्यानाकर्षणपत्र बुझाइँदै छ । ‘किन लालपुर्जा पाएनौँ ? कहिले पाउँछौँ ?’ भन्ने प्रश्न अब भाषणमा सीमित नरहने उनीहरूको भनाइ छ ।
टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरका अनुसार बफरजोन, आरक्ष र वन क्षेत्रसँग जोडिएका कानुनी जटिलताले प्रक्रिया अड्किएको छ । तर, उनी विश्वास गर्छन्, संसद्मा आवाज बुलन्द भए, कानुन संशोधन गरेर भए पनि समाधान सम्भव छ । ‘यहाँबाट जितेर जाने सांसदले हाम्रो विषय संसद्मा जोडदार रूपमा उठाउनुपर्छ,’ उनी भन्छन्, ‘कानुन फेरिएपछि हाम्रो जीवन पनि फेरिनुपर्छ ।’
भूमि समस्या समाधान आयोग, मकवानपुरका विज्ञ सदस्य अर्जुन चौलागाईंका अनुसार सिमलटारका २७–२८ सय फाइल आयोगमा दर्ता छन् । तीमध्ये करिब एक हजार एक सय भूमिहीन दलित र सुकुमवासीका फाइल हुन् । ६ सय प्रमाणीकरण भइसकेका छन् । ‘नापजाँच सकिएको छ । प्रक्रिया अन्तिम चरणमा छ,’ उनी भन्छन्, ‘समन्वय अभावले ढिलाइ भएको छ । अब चाँडै लालपुर्जा वितरण हुन्छ ।’
सिमलटारका बासिन्दाले यस्ता आश्वासन धेरैपटक सुनेका छन् । त्यसैले यसपटक भने चुनावी बहस विकासका अरू एजेन्डाभन्दा लालपुर्जामै केन्द्रित छ । मकवानपुर २ मा दुई निर्वाचन क्षेत्रमा ४४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस, एमाले, राप्रपा, नेकपा र अन्य दलका उम्मेदवारहरूले लालपुर्जा वितरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूको भाषणमा प्रतिबद्धता र कागजमा वाचा छ ।
सिमलटारका स्थानीय बासिन्दासमेत रहेका राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, हेटौँडाका नगर अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले यसपटक प्रतिनिधिसभा निर्वाचनको मौका पारेर उम्मेदवारहरूसँग प्रतिबद्धता मागेको बताए । उनका अनुसार अहिलेसम्म कांग्रेसका क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामा, एमालेका महेश्वर बर्तौला, राप्रपाका रामबहादुर थोकर, नेकपाका लवशेर विष्ट, प्रलोपाका सन्तोष विष्टलगायतले लालपुर्जा प्राप्तिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, क्षेत्र नम्बर १ का कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, एमालेका रामेश्वर राना, नेकपाका विजय गौतम, राप्रपाका दीपकबहादुर सिंहलगायत अन्य दलका उम्मेदवारहरूले पनि भूमिहीनको समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनीहरूले लालपुर्जा वितरण प्रक्रिया छिटो र पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।