रुबी कुमारी ठाकुरको नाम अहिले देशभरि चर्चामा छ। प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएदेखि चर्चामा रहेकी एउटा सामान्य परिवारकी रुबी अब उपसभामुख बन्न लागेपछि थप चर्चामा छिन्। कुनै राजनीतिक पृष्ठभूमि नभएकी रुबी नेपालको इतिहासमा सबैभन्दा कम २५ वर्षको उमेरमै उपसभामुख बन्न लागेकी हुन्।
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया निवासी रुबी एउटा सामान्य कपाल काट्ने ठाकुर परिवारकी छोरी हुन्। उनी दुई महिना अगाडि मात्रै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा संलग्न भएकी थिइन्।
जेनजी आन्दोलनबाटै देशका लागि केही गरौँ भन्ने सोच बनाएर सामाजिक कार्यमा लागेकी रुबी निर्वाचनको दुई/तीन महिना अगाडि श्रम संस्कृति पार्टीका मधेस प्रदेश पदाधिकारी दीपकजंग ठाकुरसँग सम्पर्क गरी राजनीतिमा जोडिन इच्छा राखेकी थिइन्। उनको इच्छा र मेहनतको सम्मान गर्दै दीपकजंगले उनको नाम समानुपातिकतर्फ पठाएका थिए।
रुबी भन्छिन्, ‘जेनजी आन्दोलनपछि नै श्रम संस्कृति पार्टीसँग जोडिऊँ भनेर सम्पर्क गर्न खोजिरहेको थिएँ, श्रम संस्कृति पार्टीको मधेस प्रदेशका प्रतिनिधि दीपकजंग ठाकुर छन् भन्ने थाहा पाएपछि उनको नम्बर पत्ता लगाएर निर्वाचनको दुई महिना अगाडि फोनमै सम्पर्क गरेर पार्टीमा जोडिएँ।’
दीपकजंगले भने अनुसार निर्वाचनमा घर घर गई श्रम संस्कृति पार्टीका लागि मत मागेको र त्यसबेला आफूलाई सांसद बन्नेबारेमा कल्पना नभएको उनले बताइन्। उनले आफू समानुपातिक सूचीमा रहेको समेत थाह नपाएको भन्दै सांसद निर्वाचित भएको कुरामा विश्वास नलागेको सुनाइन्।
‘मलाई पनि थाहा थिएन कि मेरो नाम समानुपातिक सूचीमा छ। निर्वाचनपछि एक्कासी काठमाडौँबाट फोन आयो तपाई्र समानुपातिकबाट सांसद हुनु भएको छ श्रम संस्कृति पार्टीबाट। यो सुन्दा मलाई त शुरुमा विश्वासै भएन। पछि विभिन्न सामाजिक सञ्जाल र समाचार माध्यमहरूमा मेरो फोटो राखेर बधाई तथा शुभकामना देखेपछि निकै खुशी लाग्यो’ रुबी थप्दै भन्छिन्, ‘अहिले त उपसभामुखमा चयन भएपछि अझै खुशीको ठेगान छैन। म जीवनभरि पार्टीले दिएको अवसरलाई भुल्ने छैन र पार्टी तथा जनतासँग निर्वाचनको बेला पार्टीका लागि मत माग्ने बेलामा गरेको वाचा अनुसार काम गर्नेछु।’
सामान्य किसान रहेका सोगारथ ठाकुरले अरुको खेत बटैया (अधियाँ) गर्दा परिवार चलाउन गाह्रो भएपछि मुजेलियामै कपाल काट्ने सानो सैलुन पसल सञ्चालन गर्दै आएका थिए। सोगारथ सैलुनबाट पनि परिवारको गुजारा चलाउन सम्भव नभएपछि ७/८ वर्षअघि साउदी अरब वैदेशिक रोजगारमा गएका थिए। छोरी रुबी सांसदमा चयन भएको बेला पनि उनी वैदेशिक रोजगार साउदी अरबमै थिए।
छोरी सांसद भएपछि आफू वैदेशिक रोजगारबाट फर्केको सोगारथ बताउँछन्। उनी भन्छन्, ‘म निकै आभारी छु श्रम संस्कृति पार्टी र हर्क सम्पाङ जस्ता नेताको। जसले मेरो छोरीको ट्यालेन्ट हेरेर देशकै यस्तो महत्वपूर्ण जिम्मेवारी दिएका छन्।’
रुबीले हर्क सम्पाङलाई सांसद चयन भएपछि पहिलो पटक भेटेकी हुन्। उनी भन्छिन्, ‘म सामान्य मान्छे। तर सधैं श्रम संस्कृति पार्टी र अध्यक्ष हर्क साम्पाङको भिडियो हेर्थें। र, देशका लागि यस्तो मान्छे चाहिन्छ भन्ने लागेर समर्थक बन्न पुगेँ। सांसद बन्नु मेरा लागि ‘ठूलो सरप्राइज’ नै हो।’

रुबीकी आमा रेणु ठाकुर गृहिणी हुन्। परिवारमा रुवीसहित चार बहिनी र दुई भाइ छन्। २०५६ चैत १८ गतेका दिन जेठी छोरीको रुपमा रुबीको जन्म भएको थियो।
धनुषाको मुजेलियास्थित श्री सोहनी माध्यमिक विद्यालयबाट एसईई गरेपछि उनले इन्जिनियरिङमा डिप्लोमा गरिन्।
‘२०७४/०७५ मा एसईई गरेपछि तीन वर्षे कोर्षको डिप्लोमा इन्जिनियरिङ सर्लाहीको बलरा पोलिटेक्निक इन्स्टिच्यूटबाट गरेँ। कोर्षमा टुडी र थ्रिडी प्रविधिबाट पनि घरको नक्सा बनाउन सिकेकाले जनकपुरधाम स्थित वास्तु आर्किटेक्चर कन्सलटेन्सीमा काम पाएको थिएँ’ उनले भनिन्।
सांसद निर्वाचित हुनु अघिसम्म उनी वास्तु आर्किटेक्चरमा करीब ८ महिनादेखि कार्यरत थिइन्। देशमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दल जस्ता स्थापित दलहरू थिए, रास्वपाको त झन् लहर नै चलेको थियो। तैपनि रुबीले श्रम संस्कृति पार्टी रोजिन्।
पुराना र लहर चलेको पार्टीमा नलागि श्रम संस्कृतिमै लाग्नुपर्ने कारण के थियो? रुबी भन्छिन्, ‘जनताको समस्या र विकासका लागि आफैं स्वयं फिल्डमा गएर काम गर्ने लगायतका हर्क सम्पाङजीको कार्यले म निकै प्रभावित थिएँ। त्यही भएर जनताको लागि काम गर्नुछ भने हर्क सम्पाङजीसँग जोडिनेछु भन्ने सोच बनाएँ। र, सो अवसर दीपकजंग ठाकुरले जुराई दिनु भयो।’
राजनीतिक पृष्ठभूमी नभएकी र सामान्य परिवारकी रुबी अब आफ्नो समस्याभन्दा देशको समस्यामा काम गर्ने दृढता व्यक्त गर्छिन्।
उनी भन्छिन्, ‘हामी पुस्तौँदेखि मुजेलियास्थित एक कट्ठा जमिनमा बसेका छौँ। जीविकाका लागि अर्काको दुई बिघा जमिन बटैयामा (अधियाँ) मा कमाउँछौँ। आमासँगै म र भाइबहिनी काम गर्छौं। बाबाले मासिक १५/२० हजार रुपैयाँ घर खर्च पठाउनुहुन्छ। म मासिक २० हजार कमाउँछु। त्यसले परिवारको गुजारा गर्दै आएका थियौँ। म जस्तो धेरै यस्ता सामान्य परिवार छन्, म आफ्नो दुःख बुझेकाले अब व्यक्तिगत समस्याभन्दा पनि जनताको समस्या बुझेर काम गर्नेछु।’
मधेसमा बेरोजगारी र दहेज (दाइजो) प्रमुख समस्या रहेको उनको बुझाई छ। यसबारे संसदबाट कानुन बनाएर अघि बढ्ने उनको प्रण छ।
रुबी भन्छिन्, ‘मधेसमा सबभन्दा ठूलो समस्या दाइजो प्रथा हो। यो गरीबका लागि त अभिशाप नै हो। मधेसमा जरा गाडेको दहेज प्रथा र बालविवाहलाई नियन्त्रण गर्न कडा कानुन बनाएर अघि बढनेछौँ भने बेरोजगारी समस्या समाधानतर्फ संसदमा आवाज उठाएर यसप्रति गम्भीर रुपमा लागेर काम गर्नेछु।’
डिप्लोमा इन्जिनियरिङ गरिसकेकी रुबी अब बीई (ब्याचलर इन्जिनियरिङ) आफ्नै गाउँठाउँ अर्थात् जनकपुरबाटै गर्ने नेपालखबरसँग बताइन्। सांसदको जिम्मेवारी पनि सम्हाल्दै उमेर छँदै समय मिलाएर बीई गर्ने सोच रहेको रुबी बताउँछिन्।
उनी भन्छिन्, ‘राजनीतिक यात्रामा सांसद हुनु देश र जनताका लागि अवसर हो भने ब्याचलर इन्जिनियरिङ मेरो परिवार र जीविकाका लागि काम लाग्छ भनेर इन्जिनियरिङ अध्ययनलाई निरन्तरता दिनेछु।’
जेनजी उमेरमै उपसभामुख जस्तो सम्मानित पदमा पुग्ने अवसर पाएकी रुबी अविवाहित हुन्। विवाहको प्रसंगमा उनी भन्छिन्, ‘पाँच वर्ष प्रतिनिधि सभामा समय दिन्छु। त्यसपछि समय मिलाएर इन्जिनियरिङको थप अध्ययन गर्नेछु। विवाहबारे खासै अहिले सोच बनाएको छैन। जनताको लागि काम गर्दै जाँदा त्यस्तो अवसर जुरे त्यसबारे पनि सोचौँला।’