यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले नाैबुँदे संकल्पपत्र सार्वजनिक गरेकी छिन्।
निर्वाचित भएपश्चात् आफूले गर्ने काम र प्राथमिकताहरू समेट्दै उनले सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, सामाजिक न्याय र विपत् व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएकी छिन्। संकल्पपत्रमा संविधान, लोकतन्त्र, संघीयता र समावेशिताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गराउने उल्लेख छ।
‘विद्युतीय सुशासन’मार्फत छरितो र भ्रष्टाचारमुक्त सेवा प्रवाह सुनिश्चित गर्ने तथा ‘मेरो निर्वाचन क्षेत्र–मेरो प्रतिबद्धता’ अभियान सञ्चालन गर्ने उनले घोषणा गरेकी छिन्। उम्मेदवार डिनाले रातोमाटेदेखि राप्ती पुल हुँदै चौकीटोलसम्म वैकल्पिक मार्ग सञ्चालन, त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि भैँसेसम्म १६ मिटर सडक कायम गरी पर्यटन मार्ग विकास, बागमती–सिन्धुली सडक तथा निजगढ–डम्बरपुर–चुच्चेखोला सडक निर्माणमा सहजीकरण गर्ने उल्लेख छ।
हेटौँडा– ४ र ८ तथा ११ र १२ जोड्ने पक्की पुल र आवश्यकताअनुसार झोलुंगे पुल निर्माण, सडक विस्तार प्रभावितलाई क्षतिपूर्ति, सबै पालिकामा केन्द्रीय विद्युत् प्रसारणलाइन र इन्टरनेट विस्तार, सार्वजनिक शौचालय तथा ढल निकास व्यवस्थापनमा जोड दिने उनले बताएकी छिन्।
मकवानपुरमा सरकारी इन्जिनियरिङ कलेज, आइटी अनुसन्धान केन्द्र, जैविक विविधता अनुसन्धान केन्द्र र चुरे ज्ञान केन्द्र स्थापना गर्ने योजना डिनाको संकल्पपत्रमा उल्लेख गरिएको छ। बागमती विश्वविद्यालयमा हाइड्रो इन्जिनियरिङ, अटोइन्जिनियरिङ र हस्पिटालिटीलगायतका नयाँ विषय सञ्चालनमा पहल गर्ने, सामुदायिक विद्यालयलाई सोलारमैत्री बनाउने, आधारभूत तहमा मातृभाषा शिक्षा र मावि तहमा गणित, विज्ञान र कम्प्युटर शिक्षक अनिवार्य गर्ने उनको प्रतिबद्धता छ।
यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, प्रत्येक पालिकामा डायग्नोस्टिक ल्याबसहितको अस्पताल सुनिश्चित गर्ने, ७० वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण, निःशुल्क एम्बुलेन्स सेवा र विपन्नका लागि निःशुल्क स्वास्थ्यको नीति ल्याउने उल्लेख छ।
गर्भवती, सुत्केरी र नवजात शिशुका लागि विशेष पोषण तथा परामर्श सेवा सञ्चालन गर्ने तथा ‘हेल्थ इन अल पोलिसी’ अवधारणाअन्तर्गत योग, ध्यान र खुला व्यायामशाला विकास गर्ने उनको योजना छ भने प्रत्येक पालिकामा सिपमूलक तालिम केन्द्र स्थापना, ‘युवा स्वरोजगार सूचना केन्द्र’ सञ्चालन, उच्च शिक्षा अध्ययनरतका लागि ‘पार्टटाइम जब’को कानुनी व्यवस्था मिलाउने र औद्योगिक क्षेत्र विस्तार गर्ने संकल्प गरिएको छ।
कृषितर्फ ‘८ अ अभियान’ (अम्रिसो, अदुवा, आलु, अकबरे, अलैँची, अमला, अनार र अमिलो)मार्फत व्यवसायीकरण गर्ने, वनस्पति उद्यानमार्फत जडीबुटीको ब्रान्डिङ गर्ने तथा मकवानपुरलाई फुसको छानामुक्त बनाउने उल्लेख छ। जिल्लाका धार्मिक तथा पर्यटकीय गन्तव्यको गुरुयोजना निर्माण, गढी संरक्षण, बागमती नदी तटमा कृषि पर्यटन विकास र रकपार्कमा कृत्रिम ताल निर्माण गर्ने उनको योजना छ।
दलित, आदिवासी, एकल महिला र अपांगता भएका नागरिकलक्षित विशेष रोजगार तथा सुरक्षा कार्यक्रम ल्याउने, शान्ति बहिरा विद्यालय र आशा फाउन्डेसनद्वारा सञ्चालित विद्यालयलाई सहयोग गर्ने तथा भूमिहीन किसानलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन पहल गर्ने उनले बताएकी छिन्।
विपत् व्यवस्थापनका लागि दमकल, स्वास्थ्य तथा पशु एम्बुलेन्स र आत्महत्या न्यूनीकरण परामर्श सेवालाई एकीकृत गरी ‘कल सेन्टर’मार्फत २४ घण्टा सेवा प्रवाह गर्ने योजना पनि संकल्पपत्रमा समेटिएको छ।