हेटौंडा \ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र तथा निर्वाचन सामाग्री हेटौंडा आइपुगेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा तयारी तीव्र बनाइएको छ भने समग्र व्यवस्थापन अन्तिम चरणमा पुगेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सामग्री जिल्लामा सुरक्षित रूपमा आइपुगेको जानकारी दिएका छन् । “निर्वाचनका लागि आवश्यक मतपत्र, मतदान पेटिका, छाप, मसी, फाराम लगायतका सम्पूर्ण सामग्रीहरू जिल्लामा आइसकेका छन्,” उनले भने, “अब ती सामग्रीहरूलाई व्यवस्थित रूपमा सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ ।”
उनका अनुसार अबको मुख्य चरण भनेको मतदान अधिकृतहरूलाई सम्बन्धित केन्द्रमा पठाउने काम हो । फागुन १८ गतेदेखि मतदान अधिकृत तथा सहायक अधिकृतहरू आ–आफ्नो मतदान केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ ।
“फागुन १८ गतेदेखि मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेर मतदाता नामावली प्रकाशन गर्ने, आवश्यक सूचना टाँस गर्ने तथा मतदान स्थलको अन्तिम तयारी गर्नेछन्,” प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनले सुरक्षा व्यवस्थालाई समेत प्राथमिकतामा राखेको छ । मतदान केन्द्रहरूको भौतिक अवस्था, पहुँच मार्ग, सञ्चार सुविधा तथा संवेदनशीलताको समेत मूल्याङ्कन गरिसकिएको प्रशासनको भनाइ छ ।
“निर्वाचन सफल बनाउन प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयबीच निरन्तर समन्वय भइरहेको छ,” अधिकारीले भने, “मतदान केन्द्रमा आवश्यक पूर्वाधार, कर्मचारी तथा सुरक्षा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।” मतदान केन्द्रमा खटिने कर्मचारीहरूको तालिम सम्पन्न हुँदैछ भने अब उनीहरूलाई आवश्यक सामग्रीसहित केन्द्रमा पठाइने तयारी भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले निर्वाचन अवधिभर शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राखिने पनि स्पष्ट पारे । “चारै सुरक्षा निकायबीच समन्वय गरेर सुरक्षा योजना तयार गरिएको छ । मतदाताले निर्भय वातावरणमा मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिनेछ,” उनले भने । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा चुनावी गतिविधि बढ्दै गएका छन् भने प्रशासनले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।