नेपाली कांग्रेसका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बुद्ध लामाले आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गरेका छन् । यस्तै, उनले ‘विद्युतीय सुशासन’लाई आफ्नो मुख्य एजेन्डा भनेका छन् ।
लामाले निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने योजनालाई केन्द्रमा राख्दै गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र स्थानीयस्तरमै रोजगारी सिर्जनामा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । संकल्पपत्रमा सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र प्रविधिमैत्री बनाउने ‘विद्युतीय सुशासन’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। सेवा प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गरी भ्रष्टाचार नियन्त्रण गर्ने र सेवाग्राहीलाई सहज पहुँच सुनिश्चित गर्ने उनको दाबी छ ।
उम्मेदवार लामाले सरकारी इन्जिनियरिङ कलेज तथा आइटी अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि सारेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत विद्यार्थीलाई अध्ययनसँगै आयआर्जनको अवसर सिर्जना गर्ने र डिजिटल सिप विकासमा जोड दिने उनको प्रतिबद्धता छ ।
मकवानपुरको विकट मानिने पालिकाहरू रहेको चुनावी क्षेत्रमा उम्मेदवार लामाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेका छन् । प्राथमिक स्वास्थ्य सेवाको पहुँच विस्तार र आधारभूत स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने कार्यक्रम पनि उनको प्रतिबद्धतापत्रमा समावेश गरिएका छन् ।
यसैगरी, कृषिलाई व्यवसायीकरण गर्न ‘८ अ’ अभियानमार्फत उत्पादन, प्रशोधन र बजारीकरण सुदृढ गर्ने योजना उल्लेख गरिएको छ। सिँचाइ विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, साना तथा मझौला उद्योग प्रवर्द्धन तथा सहकारी बचतकर्ताको रकम फिर्तालाई प्राथमिकतामा राखिएको छ। गाँजाखेतीलाई वैधानिकता दिन पहल गर्ने विषय पनि संकल्पपत्रमा समेटिएको छ ।
हेटौँडामा उपमहानगरपालिकाका राजमार्गसँग जोडिएका वडाहरूमा १६ मिटर सडक कायम गरी व्यवस्थित सहरीकरण र पर्यटन मार्ग विकास गर्ने योजना अघि सारिएको छ । सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन र डिजिटल पूर्वाधार विस्तारलाई दीर्घकालीन प्राथमिकताका रूपमा उल्लेख गरिएको छ।
उनको संकल्पपत्रमा महिला, दलित, आदिवासी जनजाति तथा विपन्न समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता गरिएको छ भने लगानीमैत्री कानुन निर्माण र रोजगारी सिर्जनामार्फत क्षेत्रलाई समावेशी र समृद्ध बनाउने लक्ष्य लिएको लामाले बताएका छन् ।