मकवानपुर \ जेन–जी विद्रोहको जगमा भएको प्रतिनिधिसभा चुनावमा ठुलो युवापंक्ति सांसद निर्वाचित भएका छन् । निर्वाचितमध्ये केही जेन–जी छन् । मकवानपुर २ बाट निर्वाचित २५ वर्षीय प्रशान्त उप्रेती, कैलाली २ बाट निर्वाचित २६ वर्षीय केपी खनाल, नवलपरासी पूर्व २ बाट निर्वाचित २६ वर्षीय मनीष खनाल र रुपन्देही २ बाट निर्वाचित २८ वर्षीय सुलभ खरेल जेन–जी उमेर समूहका हुन् ।
२५ वर्षीय उप्रेतीले निर्वाचन जितेर माननीय मात्रै बनेनन्, ०४८ देखिको कम्युनिस्ट ‘किल्ला’ नै भत्काए । उनले एमालेका महेश बर्तौलालाई ११ हजार २०४ मतान्तरले हराए । उप्रेतीले ३० हजार ५० मत पाउँदा बर्ताैला १८ हजार ८४६ मतमै समेटिए । प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट प्राय: वामपन्थी उम्मेदवार नै विजयी हुँदै आएका थिए । यसपटक २१ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
१० जेठ ०५७ मा जन्मिएका उप्रेती काठमाडौं विश्वविद्यालयमा शिक्षाशास्त्र संकायमा नेतृत्व तथा व्यवस्थापन विषय अध्ययन गर्दै छन् । नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टबाट ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) उत्तीर्ण गरेका छन् । उप्रेतीले २०१८ मा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौंबाट व्यवस्थापन विषयमा कक्षा १२ पूरा गरेका थिए भने माध्यमिक तहको अध्ययन मकवानपुरस्थित युनाइटेड सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलबाट २०१६ मा पूरा गरेका थिए ।
राजनीतिक रूपमा उनले बालेन काठमाडौं महानगरको मेयर छँदा उनको सचिवालयमा काम गरेका थिए । बालेन वरिष्ठ नेता बनेर रास्वपामा प्रवेश गरेसँगै उप्रेतीले मकवानपुर २ बाट टिकट पाएका थिए । रास्वपाबाट प्रशान्तले उम्मेदवारी पाएपछि बुबा रामचन्द्र उप्रेतीले ३५ वर्षदेखिको एमालेसँगको आबद्धता त्यागेका थिए ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि उप्रेतीले आफ्नो जितलाई जनताको जितका रूपमा व्याख्या गरेका छन् । ‘यो मेरो होइन, जनताको जित हो । नागरिकहरूले परिवर्तन चाहनुभएको थियो र लोकतन्त्रमा आफ्नो सबैभन्दा ठुलो अधिकार प्रयोग गर्दै ब्यालेटमार्फत त्यसको उत्तर दिनुभएको छ,’ उनले भने ।
उप्रेतीले रास्वपा नै आफ्नो पहिलो राजनीतिक दल भएको बताए । यसअघि राजनीतिक बहस र विचारमा सक्रिय भए पनि कुनै दलमा औपचारिक रूपमा आबद्ध नभएको उनले बताए ।-नयाँपत्रिका