हेटौंडा \ बागमती प्रदेशलाई मानव अधिकार उल्लंघनमुक्त प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ। बिहीबार हेटौंडामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सम्पन्न एकदिने मानव अधिकार सम्बन्धी छलफल कार्यक्रममा यस्तो प्रतिवद्धता जनाइएको हो।
इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र वादे प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै संयोजक खकुरेलले इन्सेकले मानव अधिकारको क्षेत्रमा गर्दै आएको गतिविधिबारे जानकारी दिँदै अझै पनि मानव अधिकार उल्लंघनका घटनाहरू उल्लेखनीय रूपमा घट्न नसकेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री वादेले बागमती प्रदेशलाई मानव अधिकारमैत्री प्रदेश बनाउने लक्ष्य लिएको उल्लेख गर्नुभयो । उहाँले इन्सेकको पहलप्रति आभार व्यक्त गर्दै आगामी दिनमा मानव अधिकार उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आवश्यक समन्वयका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा इन्सेकका प्रलेख अधिकृत बरुण बत्स्यालले बागमती प्रदेशको मानव अधिकार अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
छलफलका क्रममा मानव अधिकारको प्रवर्द्धन र संरक्षणमा मानव अधिकार रक्षक तथा सामाजिक संघ–संस्थाको भूमिकालाई अझ सशक्त बनाउने विषयमा बहस गरिएको थियो।
कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामा, मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेश, गैरसरकारी महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, बागमती प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक नान्ती राज गुरुङ, सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन तथा संवैधानिक मामिला महाशाखा सचिव लोकहरी बत्स्याल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतलगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो।