हेटौंडा \ मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टले लेख्नुभएको पुस्तक ‘छेलिएका अनुहार’ पुस्तक हेटौंडामा विमोचन गरिएको छ । एक कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा, सन्तोषी वनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, वरिष्ठ साहित्यकार तुल्सी थापाले सुयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । अल्पसंख्यक चेपाङ, वनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति हो । पुस्तक सांग्रीला पब्लिकेशनले प्रकाशन गरेको छ ।
२०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए । यस्तै २०५२ सालमा वनमै रहेका वनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र वनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ ।
पुस्तक माथी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठ, चितवनका साहित्यकार एंव प्राध्यापक भूपिन, मकवानपुरका साहित्यकार तुल्सी थापा, लेखक चन्द्रकिशोर झालगायतले चर्चा गरेका थिए ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, सांग्रीला पब्लिकेसनका मणि शर्मा, मकवानपुरका हास्यव्यङ्ग्यकार आरसी रिजाल, जनप्रतिनिधि लगायत सिवभिन्न साहित्य, कानुन, शैक्षिक, पत्रकारिता, स्वास्थ्य तथा गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

चेपाङ, वनकरिया र गाडी बोक्नेको विषयमा तीन खण्डमा पुस्तकलाई विभाजन गरिएको उल्लेख गर्दै विष्टले भने,‘यो विशेषगरी चेपाङ र बनकरिया समुदायको विषयमा सुरुवातदेखि नै लेखिएको समाचारहरुकै एकीकृत आकारको रुपमा रहेको छ । यो एउटा दस्तावेज हो ।’ चेपाङ र वनकरिया समुदायका समस्या नै समस्याको कथाहरु समेटिएको विष्टले बताए ।
कान्तिपुर दैनिकका लागि मकवानपुर जिल्लाबाट समाचार लेख्नुहुने विष्ट वरिष्ठ सहायक उपसम्पादक हुन् । कान्तिपुरमा आवद्ध हुनुअघि विष्ट हेटौंडाबाट प्रकाशित हुने कुराकानी साप्ताहिक र काठमाडौंबाट प्रकाशित हुने योजना साप्ताहिकमा आवद्ध थिए ।
विमोचन कार्यक्रम सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखीलको अध्यक्षतामा भएको थियो ।