मुख्यमन्त्री शाक्यद्धारा सदनमा प्रस्ताव पेश, अर्को बैठक ४ गते बस्ने

२४ आश्विन २०७८, आईतवार १७:३७

सिधाखबर  \ बागमती प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक आइतबार बसेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सुनाउदैं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नवौं अधिवेसन र विजया दशमी सहितका अन्य चाडपर्वको शुभकामना भनाई राख्न दिएर सभा सुरुभएको थियो ।

सोही अनुरुप प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ, समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डे, नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौला, रमेश पौड्याल, सुरेन्द्रराज गोसाई, रिता माझी, प्रेमबहादुर तामाङले शुभकामना सहित आफ्ना भनाइ राख्नुभएको थियो ।

सभामा सभामुखले प्रदेश सभा नियमावली २०७४ नियम ११ बमोजिम सभामुख र उपसभामुख उपस्थित नभएको खण्डमा बैठकको अध्यक्षता गर्न शान्ति थिङ, लालकुमारी पुन, सन्तबहादुर प्रजा, बशुन्धरा हुमागाई, शोभा शाक्यलाई मनोनयन गर्नुभएको छ ।

आजैको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुने भएको छ । उहाँले नेपालको संविधा धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न सोही नियमावलीको नियम १४३ उपनियम २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्ताव दर्ता गर्नुभएको थियो ।

नेकपा (एमाले) विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने प्रस्ताव सभामुख समक्ष सदनमा पेश गर्नुभएको हो । सभामुख श्रेष्ठले अर्को बैठक कार्तिक ४ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको छ ।

१०९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार जोगाउन शाक्यलाई ५५ सांसद चाहिन्छ । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जनता सामाजवादी पार्टीका एक गरी विपक्षी गठबन्धनसँग ६० जना सांसद छन् । तर‚ ४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेको विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग सहकार्य गर्दा पनि आवश्यक मत पु¥याउन सक्दैन ।

संसदमा विवेकशीलसँग तीन तथा राप्रपा र नेमकिपासँग दुई दुई सांसद छन्। ती सबैलाई जोड्दा एमालेसँग ५० मत मात्रै हुन्छ। जुन प्रदेश सरकार टिकाउनका लागि अपर्याप्त हो । त्यसैले नेपालकै पहिलो महिला मुख्यमन्त्रीको रुपमा सत्तारोहण गरेकी शाक्यको बहिर्गमन लगभग निश्चित रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*