राप्रपा महाधिवेशन : कमल थापालाई कोबाट चुनौती ?

८ मंसिर २०७८, बुधबार ०८:५६

काठमाडौं \  देशका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले जस्तै यही मंसिरमा पूर्वपञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि महाधिवेशन गर्दैछ ।

मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि सोमबारदेखि ३ दिनसम्म हरेक जिल्लाको प्रदेश निर्वाचन क्षेत्र स्तरमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको छ । महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी भई पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।

२०४७ सालमा जनआन्दोलन सफल भएपछि पञ्चायतका पक्षधरहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेका थिए । पटक-पटक फुट्दै र पुनः जुट्दै आइरहेको यो दल हाल भने एउटै छ ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) र बीच २०७६ फागुन २८ एकीकरण भएको थियो । पार्टी एकीकरणपछि हुन लागेको महाधिवेशनमा अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र राजेन्द्र लिङ्देनले नेतृत्वमा आकांक्षा राखेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका लिङ्देनले बाहेक अरुले औपचारिक रुपमा भने मुख खोलेका छैनन् ।

कमल थापाको दाबी

आन्तरिक छलफलमा भने अध्यक्ष कमल थापा यसपालि आफू स्वाभाविक दाबेदार भएको बताउने गरेका छन् । पार्टीको एजेण्डा हिन्दू राष्ट्र, राजसंस्था र संघीयताको खारेजी आफूले तय गरेको भन्दै उनले यसलाई बलियो बनाउन आफैंले नेतृत्व गर्नुपर्ने तर्क गर्ने गरेका छन् । उनले यही अनुसार पार्टीका अरु नेताहरुसँग छलफल अघि बढाइरहेका छन् । ‘जसको नीति उसको नेतृत्व हुनुपर्छ, त्यसैले अहिले नै कमल थापाको विकल्प सोच्ने बेला भएको छैन’ थापा निकट नेता उद्धव पौडेल भन्छन् । तर थापामाथि हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डालाई आफ्नो फाइदाका लागि उपयोग मात्र गरेको आरोप पार्टीभित्र लाग्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*